काठमाण्डु– नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् ।
अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानीत गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानीत गरेको हो ।
अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे । “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पुर्यायौं । अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ । प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौं । व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ,“ उनले भने । एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ’उज्यालो नेपाल’ अभियान सुरु गरेको उनले बताए ।
“सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र नेपालीहरुको निराशालाई आशामा बदल्नको लागि उज्यालो नेपाल अभियान लिएर अगाडी बढेको हुँ । तपाईं सबैको साथको लागि अनुरोध गर्छु,“ घिसिङले भने । “आगामी दिनमा तपाईंहरुले गरेको यो सम्मान मेरो आत्मबलको श्रोत हुने छ ।“
उक्त कार्यक्रममा घिसिङसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीलाई पनि ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।




प्रतिक्रिया