स्पेन – युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लांका र नेपाल समाज एशोसिएशन कोष्टाव्लांकाद्वारा संयुक्त रूपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए ।
‘मुलुकमा छिटोभन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ,’ उनले भने, ‘अहिले देशभर झण्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ । तर बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशको हरेक क्षेत्रमा उज्यालो हुनुपर्यो भनेर उज्यालो नेपाल अभियान सुरु गरेको छु । म प्राधिकरणमा आउँदा हाम्रो कुल विद्युत् उत्पादन ८०० मेगावाट थियो, अहिले झण्डै ४ हजार मेगावाट पुग्न लागेको छ । ५ गुणा बढी उत्पादन भइरहेको छ । अरू हजारौं मेगावाटका आयोजनाहरू निर्माणाधीन छन् । अहिले २५ अर्ब वार्षिक महशुल उठाइरहेका छौं । प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौं । आमजनताको सहयोग नभएको भए यो सम्भव हुने थिएन ।’
‘अहिले मुलुकका हरेक क्षेत्रमा अँध्यारो छन् । अँध्यारो हटाएर, आशा जगाउन, हरेक नेपालीको अनुहारमा उज्यालो छर्नुपर्छ भन्ने संकल्पका साथ अगाडि बढेको छु । म खाडी मुलुकहरू, अमेरिका, यूके, बेल्जियम, द नेदरल्याण्डस, माल्टा हुँदै स्पेन आइपुगेको छु । यो भ्रमणबाट मैले धेरै बुझ्ने सिक्ने मौका पाएँ,’ उनले भने ।
आफ्नो भेटघाटमा प्रवासमा रहेका सबै नेपालीले छिटोभन्दा छिटो नेपालको समृद्धि कसरी हुन् सक्छ ? हामीले के गर्न सक्छौं ? नेपालमा लगानीको वातावरण कसरी राम्रो बन्छ ? भनेर चासो र चिन्ता व्यक्त गरेको उनले बताए । ‘प्रवासमा साथीहरूले धेरै राम्रो व्यवसाय, काम गरिरहनुभएको छ । यो नेपालको लागि ठूलो सम्पत्ति हो । ५० लाख नेपालीले विदेशमा बसेर अनुभव हासिल गर्नुभएको छ, विज्ञता हासिल गर्नुभएको छ । यो सबै विज्ञता नेपालको विकास र रूपान्तरणमा जोड्नुपर्छ,’ उनले भने ।
उनले छिट्टै आवश्यक कानून ल्याएर गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए । उज्यालो नेपाल बनाउने अभियानमा जोडिन उनले सबैलाई आग्रह पनि गरेका छन् ।
कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाल समाज एशोसिएशन कोष्टाव्लांकाका अध्यक्ष केशरबहादुर थापाले राष्ट्रको सेवामा लागेका कुलमान घिसिङजस्तो व्यक्तित्वको कुरा सुन्न पाउँदा निकै खुसी लागेको बताए । उनले प्रवासमा बसे पनि आफूहरू मातृभूमिको सुखदुखमा सधैं हातेमालो गर्दै आएको बताए । सन् २०१५ मा महाभूकम्पमा रकम संकलन गरेर नेपाल पठाएको स्मरण गर्दै अध्यक्ष थापाले उज्यालो नेपाल अभियानको सफलताको कामना गरेका छन् ।
कार्यक्रममा एनआरएनए कोष्टाव्लांकाका अध्यक्ष विपिनकुमार बिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा घिसिङलाई कदर पत्रसहित सम्मान पनि गरिएको थियो । कलाकार सरोज लामिछानेले साङ्गीतिक प्रस्तुति गरेका थिए । विभिन्न संघसंस्थाले कार्यक्रमको सफलताको कामना गर्दै सन्देश पठाएको कार्यक्रम संयोजक असीम लोप्चन तामाङले बताए ।




प्रतिक्रिया