काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको भन्ने समाचार असत्य भएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूले आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी प्रसारित समाचारप्रति आपत्ति जनाउँदै मन्त्री घिसिङले ती समाचारहरूमा कुनै सत्यता नभएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले भनेका छन्, ‘ विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु । जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ ।’
मन्त्री घिसिङले सरकार जनताको भरोसा कायम राख्न प्रतिबद्ध रहेको पुन: दोहोर्याउँदै भनेका छन्, ‘३ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’





प्रतिक्रिया