यसपालि जेनजी आन्दोलनका कारणले धेरै प्रोजेक्टहरू रोक्का भएको छ : मन्त्री घिसिङ

यसपालि जेनजी आन्दोलनका कारणले धेरै प्रोजेक्टहरू रोक्का भएको छ : मन्त्री घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका कारण धेरै प्रोजेक्टहरूमा बजेट रोक्का लागेकाले प्रगति कम देखिएको बताएका छन् ।

सोमबार भएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयन अवस्था सम्बन्धी प्रश्न तथा आगामी योजनाबारे समिति सदस्यहरूले मन्त्रीसँग प्रत्यक्ष छलफलमा उनले बजेट रोक्का भएपछि काम सुरु भएका योजनाहरू पनि अगाडि बढ्न नसकेको भन्दै खर्च कम देखिए पनि राम्रै प्रगति मान्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो जति पनि प्रगतिका कुरा आइरहेका छन्, त्यसमध्ये २ वटा कुरा सधैं प्रगतिमा आउने गर्छ । पहिलो त्रैमासिकमा प्रगति सधैं कम नै हुन्छ । त्यो माथि यसपालि जेनजी आन्दोलनको कारणले धेरै प्रोजेक्टहरू रोक्का भएको छ । रोक्का भइसकेपछि  टेन्डरमा जाँदैन । काम नै सुरु भएको योजनाहरू पनि अगाडि बढ्ने कुरा भएन, बजेट नै रोक्का अगाडि बढ्ने कुरा भएन् । यसले खर्च केही कम देखिए पनि राम्रै प्रगति भन्नुपर्छ । किनभने पहिलो त्रैमासिकमा रोक्का भएको बजेटलाई माइनस गरेर लिने हो भने प्रतिशत धेरै माथि जान्छ ।’

शहरी विकासको ६१ अर्ब रोक्का भएको भन्दै त्यो घटाएर प्रतिशतमा हेर्ने हो भने २० प्रतिशतभन्दा बढी नै विकास भएको भन्दै रोक्काको कारणले बजेटमा अलिकति समस्या भएको उनले बताए ।

राज्यको लागि सबैभन्दा बढी नाफा नै ऊर्जा क्षेत्रले गरेको भन्दै घाटा गरायो भन्ने जुन आक्षेप लगाएको छ, त्यो सरासर गलत भएको पनि उनको भनाइ छ ।

ठेकेदारहरूले ठेक्का लिएर कामै नगर्ने प्रविधि ३ वटै मन्त्रालय अन्तर्गत व्यापक रूपमा रहेको भन्दै ऊर्जा, सडक, सिँचाइ र शहरी विकास अन्तर्गत काम नगर्ने अहिलेसम्म ४९ वटा ठेक्का तोडिसकेको उनले बताए ।

उनले भने, ‘धेरै परियोजनाहरूमा प्रोजेक्ट लिने तर ठेकेदारहरूले बिलोमा लिने र कामै नगर्ने प्रवृत्ति व्यापक छ । ३ वटै मन्त्रालयमा यस्तै प्रवृत्ति छ । त्यसैले जसजसले काम गर्दैन, त्यो सबै ठेक्का तोड्नुपर्छ भनेर ठेकेदारको कारणले ढिलो भएको प्राजेक्टहरू हामीले टर्मिनेसनमा लाने भनेर ऊर्जा, सडक, सिँचाइ र शहरी विकासका करीब २६९ वटा प्रोजेक्टको ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढायौं । अहिलेसम्म ४९ वटा ठेक्का हामीले तोडिसकेका छौं ।’