काठमाण्डु – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाण्डु उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक काम गरिरहेको बताएका छन् ।
शनिबार थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहोर पानी प्रशोधन प्लान्टको निरीक्षण गर्दै मन्त्री घिसिङले बागमती, विष्णुमती, धोबीखोला, टुकुचा र गुह्येश्वरी लगायत काठमाण्डु उपत्यकाका नदीहरूलाई सफा गर्न फोहोर पानी प्रशोधन प्लान्ट बनाउने काम भइरहेको बताए ।
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा काम सुरु भए पनि नदी वरिपरिका रुख कटानी र त्यस क्षेत्रको ठाउँ तयार गर्न समय लागेको बताए । उनले बागमती नदी सफा गर्न गुह्येश्वरीमा प्लान्ट बनेको र अन्य केही ठाउँमा पनि बन्ने क्रममा रहेको बताए ।
काठमाण्डु उपत्यकाभित्रका केही नदी ललितपुर महानगरपालिकाभित्र भएको र त्यस ठाउँमा प्लान्ट बनाउने क्रममा स्थानीयको विरोधका कारण पनि ढिलाइ भएको मन्त्री घिसिङले बताए । उनका अनुसार वाटर ट्रिटमेण्ट प्लान्टले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पुर्याउनेछ ।
मन्त्री घिसिङले भने, ‘यता काठमाण्डुपट्टि बनिरहेको संरचना अब छिट्टै सम्पन्न हुने देखिन्छ तर उता ललितपुरतिरको भागमा काम रोकिँदा समग्र परियोजनामा केही ढिलाइ हुने भएको छ । यसलाई जसरी पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ ।’
काठमाडौँ उपत्यकाका सबै नदी सफा गर्नका लागि प्रतिदिन ६०० एमएलडीको प्लान्ट आवश्यक पर्ने भए पनि हाल उपत्यकामा निर्माणाधीन प्लान्ट त्यसको २० प्रतिशत मात्रै भएको उनले बताए । हाल एडीबीको ३ अर्ब १८ करोड लगानीमा प्लान्ट निर्माणको काम भइरहेको मन्त्री घिसिङले बताए ।




प्रतिक्रिया