काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको उद्घाटन गर्दै नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने टिप्पणी गरेका छन् ।
बिहीबार दिउँसो पार्टीको औपचारिक उद्घाटन समारोहमा बोल्दै उनले फागुन २१ गतेको निर्वाचनबाट नयाँ शक्तिहरूको उदय हुनुपर्ने बताए ।
पार्टी उद्घाटन कार्यक्रमअघि बिहीबार बिहान मन्त्री घिसिङले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । भेटमा आसन्न चुनावमा सँगसँगै जानेबारे छलफल भएको बताइएको छ ।
दिउँसो पार्टी उद्घाटन गर्दै उनले भने, ‘सबैले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नुभएको छ । नयाँ शक्ति र नेतृत्वको टीम अगाडि बढ्नुपर्छ । नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि बढ्नुपर्छ ।’
मेयर शाहले आफू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीलाई एक बनाएर चुनावमा जाने पहल सुरु गरेका छन् ।




प्रतिक्रिया