काठमाण्डु – उज्यालो नेपाल पार्टी एकीकरण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष बन्ने सहमति गरेका ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको दाबी गरेका छन् ।
मंगलबार काठमाण्डुमा आयोजित नेपाल इन्जिनीयर्स एशोसियशन अन्तर्क्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताए ।
उनले भने, ‘मलाई यहाँ एउटा साथीले उठाउनुभएको कुरा छ, अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’
इन्जिनीयरहरूको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।
‘सरकारले इन्जिनीयरहरूको न्यूनतम पारिश्रमिक तोक्नैपर्छ । श्रम मन्त्रालयअन्तर्गत हामीले पठाएका छौं । त्यसलाई श्रम मन्त्रालयले नै निर्देशन जारी गर्नुपर्ने हुनाले त्यसमा हामी अगाडि बढेको छौं,’ उनले भने ।
केही कुरामा मात्र पनि सरकारले ध्यान दिएर सुधार गर्ने हो भने धेरै इन्जिनीयरहरूले रोजगारी पाउने अवस्था सिर्जना हुने उनले बताए । दरबन्दी निर्माण गर्न खोज्दा अर्थ मन्त्रालयले सहमति नदिँदा धेरै इन्जिनीयरहरूले रोजगारीबाट वञ्चित हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
उनले भने, ‘केही कुराहरूमा सुधार गर्दाखेरी धेरै इन्जिनीयरहरूले रोजगारी पाउने अवस्था छ । त्यो विषयलाई हामीले नियन्त्रण गर्ने र गम्भीर रूपमा सरकारले हेर्नुपर्छ । संस्थानहरूमा इन्जिनीयरहरूको धेरै ठूलो माग छ । विद्युत् प्राधिकरणमा पनि धेरै माग छ । इलेक्ट्रिकल इन्जिनीयर पाएकै छैन । त्यसको दरबन्दी निर्माण गर्न खोज्दा अर्थ मन्त्रालयले सहमति दिँदैन । एकातिर प्रदर्शन गर्न सकेको छैन, अर्कोतिर रोजगारी सिर्जना भइरहेको छ, यो कुरा सरकारले गम्भीर रूपमा हेर्नुपर्छ,’ उनले भने ।




प्रतिक्रिया