अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुन्छ : कुलमान घिसिङ

अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुन्छ : कुलमान घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् ।

बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गरे । उनले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने बताए ।

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको माग र भावना बोकेर अगाडि बढेको जानकारी दिए । उनले पछिल्लो दिनहरुमा काम गरेर आएका व्यक्तिहरु मिलेर बनेको उज्यालो नेपाल पार्टी देशको परिवर्तन गर्न आएको बताए । अबको भोट भनेको भाषण गर्नेको नभई काम गर्नेहरुको रहेको उनको भनाई थियो । अध्यक्ष घिसिङले केही पार्टीहरुले भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको बताए ।

अध्यक्ष घिसिङले आजबाट मधेश प्रदेशको भ्रमण सुरु गरेको र जनताको घरदैलौ कार्यक्रम अन्तर्गत मधेश प्रदेश आएको जानकारी दिए । उनले प्रदेशको ८ वटै जिल्लामा आफ्नो पार्टीका उम्मेदवारहरु भएकोले सबै संग भेटघाट एवम छलफल गर्ने उद्देश्यका साथ मधेश झरेको बताए ।

अध्यक्ष घिसिङले जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा पाठ गरेका छन् । त्यस्तै उनले जनकपुरधामस्थित पिडारी चोकमा पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । अध्यक्ष घिसिङ आजै सिरहा पुगेर कमला पुलको निरीक्षण गर्ने भएका छन् ।