रवि, बालेन र कुलमान एकै ठाउँमा आउने सम्भावना कति छ ?

रवि, बालेन र कुलमान एकै ठाउँमा आउने सम्भावना कति छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुन लागेको निर्वाचनलाई लक्षित गर्दै मोर्चाबन्दी सुरु गरेको छ।

रास्वपाले आइतबार विवेकशील साझा पार्टीसँग एकता गर्ने निर्णय गर्दै नयाँ राजनीतिक संरचना निर्माणतर्फ अग्रसर भएको हो।

रास्वपासँग एकताको विषयमा अहिले अन्य पार्टी र साना समूहहरूसँग पनि छलफल जारी छ। सभापति रवि लामिछानेको निर्देशनमा उपसभापति स्वर्णिम वाग्ले र नेता शिशिर खनालले सक्रिय रूपमा पहल गरिरहेका छन्।

उर्जामन्त्री समेत रहेका उज्यालो नेपालका नेता कुलमान घिसिङ र काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहसँग पनि रास्वपाले निरन्तर संवाद गरिरहेको स्रोतले जनाएको छ। उज्यालो नेपालमा घिसिङ औपचारिक रूपमा कुनै पदमा नरहे पनि पार्टी गठन उनीकै अवधारणामा आधारित रहेको बताइन्छ। मेयर शाहले भने आफु निकटको नाममा देश विकास पार्टी दर्ता गराइसकेका छन्।

घिसिङ र शाहसँग रास्वपाका वाग्ले र खनालबीच धेरै चरणमा छलफल भएको स्रोतले बताएको छ। शनिबार मात्र मेयर शाह र मन्त्री घिसिङबीच पनि भेटवार्ता भएको थियो। शाहको प्रतिनिधित्व गर्दै कुमार वेन रास्वपाका नेताहरूसँग संवाद गरिरहेका छन्। शाहले प्रत्यक्ष राजनीतिमा प्रवेश गर्ने निर्णय गरिसकेका छन्।

उनी कुनै पद नचाहने तर एउटा बलियो शक्ति निर्माण गरेर अघि बढ्ने धारणामा रहेका छन्। शाहले जेन्जी आन्दोलनपछि उदाएका नेता सुदन गुरुङ र पुरुषोत्तम यादवलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने अडान लिएका छन्। त्यससँगै उज्यालो नेपालका घिसिङसहितको समूहलाई समेत समेटेर अघि बढ्न शाह इच्छुक रहेको बताइन्छ। रास्वपाले शाहलाई ‘सेकेन्ड पोजिशन’ दिने सम्भावना रहेको स्रोतको दाबी छ।

“पार्टी बनाउने र चलाउने कुरा ठूलो होइन। तर एक्लाएक्लै जाँदा कसैको बहुमत आउँदैन। बहुमत नपुग्दा सांसद भएर मात्र केही फाइदा हुदैन। त्यसैले पुराना शक्तिका विरुद्ध लड्न पनि सबै एकजुट हुनुपर्छ भन्नेमा मेयर साहेब स्पष्ट हुनुभएको छ,” बालेन निकट स्रोतले भन्यो।

रास्वपाका नेताहरू र शाहको समूहबीच पार्टीको नाम, चुनाव चिन्ह र भूमिकाबारे प्रारम्भिक सहमति भइसकेको बताइन्छ। अब सभापति रवि लामिछाने र शाहबीच अन्तिम छलफल गरेर टुंगो लगाउने तयारी भएको छ। शाहले आफ्ना सल्लाहकार वेनमार्फत पार्टीको नाम, नेतृत्व र चुनाव चिन्हमा आफूलाई कुनै समस्या नभएको सन्देश पठाइसकेका छन्।

उर्जामन्त्री घिसिङको तर्फबाट पनि आफूलाई वरिष्ठ नेता मानेर अघि बढे रास्वपाको नाम र चिन्ह स्वीकार्य हुने प्रस्ताव आएको रास्वपा स्रोतले दाबी गरेको छ। पछिल्ला दिनमा घिसिङ र मेयर शाहका टोलीबीच पनि घनिष्ठ छलफल भइरहेको छ।

तीनै पक्षसँग संवाद गरिरहेको स्रोतले रवि, बालेन र कुलमान तीनैजना एकै प्लेटफर्ममा आउने विषय लगभग निश्चित रहेको दाबी गरेको छ। यसका लागि चाँडै तीनै नेताबीच प्रत्यक्ष छलफल गर्ने तयारी चलिरहेको बताइएको छ।

तर, सभापति लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा अहिले सबै पक्ष केही अप्ठ्यारो स्थितिमा रहेका छन्। अघिल्लो सरकारले लामिछानेप्रति अन्याय गरेकाले उनको रिहाईका लागि पहल गर्नुपर्ने आग्रह रास्वपाका नेताहरूले गरिरहेका छन् ।

जेन्जी आन्दोलनका प्रमुख नेताहरू, रास्वपाका दोस्रो पुस्ताका नेता तथा बालेन–कुलमान निकट नेताहरू पनि एउटै शक्ति निर्माण गरेर अघि बढ्न मुख्य नेताहरूलाई दबाब दिइरहेका छन्। रास्वपाका नेता खनालले भने- “हामी बालेन र कुलमानजीसँग निरन्तर छलफलमा छौँ, परिणाम पनि सकारात्मक आउला भन्ने विश्वास छ।”