प्राधिकरणमा एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्ने छैनः कुलमान घिसिङ

प्राधिकरणमा एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्ने छैनः कुलमान घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक व्यक्ति एउटै पदमा बसिरहन नहुने बताएका छन् ।

आफ्नो चार वर्षे कार्यकाल सकिएर बिदा हुँदै घिसिङले पुनः एउटै व्यक्ति मात्रै निर्देशक भएर बस्नुपर्छ भन्ने नरहेको बताएका हुन् । सोमबार चार वर्षे कार्यकाल सकिएका घिसिङको मंगलबार बिदाई गरिएको हो ।

उनले पहिले विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा नहुने अवस्था रहेको बताउँदै अहिले भइरहेको चर्चालाई प्राधिकरणको इज्जत ठान्नुपर्ने बताए ।

‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो । अहिले चर्चामा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नुपर्छ’, घिसिङले भने, ‘कार्यकारी निर्देशक आउने जाने हुन्छ । एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन । विकल्परहित केही हुँदैन ।’

घिसिङले हिजाको दिनभन्दा अब आउने नयाँ कार्यकारी निर्देशकलाई थप चुनौतीपूर्ण हुने बताएका छन् । उनले प्राधिकरण सफल हुनका लागि नेतृत्वको उत्साह र सहयोग आवश्यक पर्ने बताए ।

‘प्राधिकरणमा म नहुँदा नेतृत्व गर्न योग्य व्यक्ति हुनुहुन्छ । लिडरसीपले मोटिभेसन गर्नुपर्छ । हिजोको भन्दा हामीले केही राम्रो गरेका छौँ । त्यसको इन्टेन्सिप पाएका पनि छौँ’, उनले भने ।

२०७३ भदौ २९ गते नियुक्त भएका घिसिङले तत्कालिन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उनले उर्जामन्त्रीहरु र उर्जाहरु सचिवहरुलाई पनि विशेष धन्यवाद दिएका छन् ।

त्यस्तै बिदाई कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले १५ दिनपछि पुनः घिसिङलाई नै स्वागत गर्न पाउनुपर्ने आशा व्यक्त गरेका छन् । उनले कुलमानको कार्यकालमा प्राधिकरणले ठूलो छलाङ मारेको बताए ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नै पुनः नियुक्ती गर्ने चर्चा थियो तर, सरकारले नियुक्त नगरेपछि उनको आज बिदाई गरिएको हो ।