काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बुधबार सिंहदरबारमा नेपालका लागि चीनका राजदूत चेन सोङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा राजदूत सोङले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
दुवैबीचको छलफलमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका आयोजना, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहयोगमा सञ्चालन भएका आयोजनाको कार्यान्वयन अवस्था र लगानीका सम्भावनाबारे कुरा उठाइएको थियो ।
मन्त्री घिसिङले विशेषगरी काठमाण्डु–कोदारी (अरनिको) र स्याप्रुबेंसी–रसुवागढी सडक पहिरो र कमजोर भौगोलिक अवस्थाका कारण जोखिमपूर्ण भएको उल्लेख गर्दै स्थायी मर्मतका लागि चिनियाँ प्रविधि र सहयोगको अनुरोध गरे।
उनले काठमाण्डु उपत्यका चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण करिडोरका जलविद्युत् आयोजनाहरूको लागि किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाउन आग्रह गरे।
यसैगरी, कमला–कञ्चनपुर आयोजना, नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारमा चिनियाँ ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै आवश्यक सहयोग र सहजीकरणको पहल गर्न आग्रह गरे।
राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न चीन सधैं तयार रहेको दोहोर्याए।
भेटमा मन्त्रालयका सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैसी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतको सहभागिता थियो।




प्रतिक्रिया