घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी

घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको शनिबार निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।

मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे । उनले भने, ‘घुमाउने पुल जसरी पनि निर्माण गर्नुपर्नेछ। यहाँ राष्ट्रपतिको पनि चासो छ। काम गर्नुस्, नगर्ने भए भन्नुस् ।’

मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिएका हुन् । आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो ।

११ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत ९ करोड ५६ लाख थियो । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् ।

यसबीच न्मन्त्री घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रिजको निरीक्षण गरेका छन् ।

उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरी ठेक्का सम्झौताअनुसार नै समयतालिकामा निर्माण सम्पन्न गरेर नमुना परियोजनाको रूपमा उदाहरणीय बनाउन कार्य अघि बढाउन आग्रह गरे ।

४२० मिटर लम्बाइको यो पुल १ अर्ब ६९ करोड रुपैयाँ लागतमा बनिरहेको छ । पुलको मुख्य निर्माण सुरु हुनुअघिका कामहरू भइरहेका छन् । मनसुन सुरु हुनुअघि नै पाइल फाउन्डेसन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुलको निर्माण २०८४ जेठभित्रै सक्ने कार्यतालिका छ ।

पुलको मुख्य विशेषता दुई ठूला कंक्रिट टावरमा स्टे केबलबाट सडकलाई सपोर्ट गर्ने प्रणाली हो । यसैगरी नारायणी तटबन्धको विषयमा पनि उनले जानकारी लिएका छन् ।