काठमाडौं – अमेरिकाले कुमार पौडेलको हत्या गैरन्यायिक भएको आरोप लगाएको छ । २०१९ को सार्वजनिक मानवअधिकार अभ्यास प्रतिवेदनमा गैरकानुनी तथा राजनीतिक स्वार्थ केन्द्रित हत्या उप शीर्षकमा कुमार पौडेलको हत्या गरिएको उल्लेख छ ।
‘यसबीच सरकार वा यसका एजेन्टहरुबाट गैरन्यायिक तथा गैरकानुनी हत्यामा संलग्न भएका घटनाहरु रिपोर्ट भएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘जुन २० मा प्रहरीले सर्लाहीमा माओवादीबाट अलग भएको विप्लव नेतृत्वको पार्टीका स्थानीय नेता कुमार पौडेलको हत्या गरेको छ ।’
प्रहरीले ‘जवाफी कारवाही’ भने पनि राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरमलगायतका संघ संस्थाले इन्काउन्टर नाटकीय भएको बताइरहँदा सेप्टेम्बरसम्म कुनै पनि अधिकारीहरुलाई कारवाहीको दायरामा नल्याइएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, प्रतिवेदनमा प्रहरी इन्काउन्टरमा भक्तपुरमा मारिएका ११ वर्षीय निशान खड्कालाई अपहरण गर्ने दुई जनाको हत्याको घटना पनि टुंगो नलागेको समावेश गरिएको छ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा १३ वर्षीय बालकको मृत्यु तथा २४ जना घाइते भएको घटनामा संलग्नलाई कारवाही नभएको पनि प्रतिवेदनमा समावेश छ ।
त्यस्तै, निर्मला पन्तलाई बलत्कार तथा हत्या गर्ने कुनै पनि अभियुक्त प्रहरीको नियन्त्रणमा समेत नरहेको प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया