काठमाडौं – कुमारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष श्री अमिर प्रताप ज.ब. राणाज्यूको अध्यक्षतामा नक्सालस्थित नक्साल ब्यानक्वेटमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७५/०७६ को लागि १०% बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड हुनेछ ।
आर्थिक वर्ष २०७५/७६ को मसान्तसम्म बैंकले कुल निक्षेप ८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा १ अर्ब ७६ करोड तथा १ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।




प्रतिक्रिया