काठमाण्डु- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान कार्यलाई थप तीब्रता दिएको छ। मंगलबार मात्रै ललिता निवास जग्गा हिनामिना प्रकरणमा ७ जना पक्राउ परेका थिए ।
यसैबीच ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरेको अभियोगमा ४०६ जना विरुद्ध पक्राउ पूर्जी भएको छ । जिल्ला अदालत काठमाण्डुबाट अनुमति लिँदै सिआइबीको टोलीले ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीले ललितानिवास प्रकरणमा पक्राउ पुर्जी जारी भएकाहरुको खोजिरहेको जनाएको छ । सीआईबीको टोलीले करिब डेढ बर्षपछि फेरी ललिता निवास जग्गा प्रकरणको फाईल खोलेको छ । डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण सो प्रकरणमा अनुसन्धान रोकएको थियो । ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउनेदेखि गुठीमासमेत ल्याएर हत्याउने खेल चार ‘चरण’मा पूरा गरेको सीआईबीको निष्कर्ष छ ।
सीआईबीको अनुसन्धान रिपोर्टअनुसार २० वर्षको चार पटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएर हत्याइएको पाईएको छ । त्यस्तै हालसम्म ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलेको छ । अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातदेखि अरु दुई पूर्वसचिवहरु छविराज पन्त र दिनेशहरि अधिकारी मुछिएका छन् ।
शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ लगायतमाथि जग्गा अनियमितताको योजना बनाएको आरोपमा अख्तियारले तीन वर्षअघि दायर गरेको भ्रष्टाचारमुद्दा विशेष अदालतमा विचाराधीन छ । डेढ वर्षअघि सीआईबीले पुरानै राय अनुसार करिव ३ सय जनाभन्दा बढीमाथि मुद्दा चलाउनुपर्ने भनी फाइल सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।




प्रतिक्रिया