काठमाडौं – बालुवाटारस्थित ललिता निवास भूमाफियाको नाममा दर्ता गराएको जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपालीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ । विवेकशीलले भने बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो ।
प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको छ । त्यसक्रममा विवेकशीलका केही नेतालाई प्रहरीले पक्राउ समेत गरेको छ । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा भूमाफिया र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको एक सरकारी छानबिन समितिले ठहर गरेको छ।
३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भएको छ। १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिका नाममा पुगेको छ। सरकारी जग्गा हत्याउने यो प्रकरणमा भूमाफियाको संरक्षकमा सत्तारुढ नेकपाका नेता, अख्तियारका पूर्व आयुक्त तथा पूर्व सचिवहरूको संलग्नता देखिएको छ।




प्रतिक्रिया