ललितपुर महानगर प्रमुख महर्जन र रुसका राजदूतबीच भेटवार्ता

ललितपुर महानगर प्रमुख महर्जन र रुसका राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रमुख महर्जनको नेतृत्वमा आगामी हप्ता रुसको उलान उदे शहरसँग भगिनी सम्बन्ध कायम गर्न जानुअघि नगर प्रमुख महर्जन र राजदूतबीच भेटवार्ता भएको छ ।

प्रमुख महर्जनले महानगर र रुसको शहरबीच हुने भगिनी सम्बन्धले रसिया र नेपालका नागरिकबीच प्रगाढ सम्बन्ध स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुने बताए । उनले भने, ‘असल अभ्यासहरू आदानप्रदान गर्नका लागि यो सम्बन्ध महत्त्वपूर्ण हुनेछ, यसअघि पनि ललितपुर महानगरले कोरियाको चेओरन शहरसँग भगिनी सम्बन्ध कायम गरेको छ, जसबाट कृषि क्षेत्रमा ललितपुरलाई चेओरन शहरले सहयोग गर्दै आएको छ,’ उनले भने ।

भेटवार्ताका क्रममा प्रमुख महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा गरेको कामबारे राजदूत नोबीकोबलाई जानकारी गराएका थिए ।

भेटवार्तामा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन तथा उद्योग समितिका संयोजक एवं वडा नम्बर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्ट समेत सहभागी थिए ।

राजदूत एलेक्स नोबीकोबले पानी शुद्धीकरणका क्षेत्रमा काम गर्दै आएको रसियन हाइड्रो सम्बन्धी कम्पनीसँग भेट गर्न सल्लाह दिएका छन् ।

उनले रसियाको शहरसँग भगिनी सम्बन्ध कायम हुन लागेको जानकारी पाउँदा खुसी लागेको बताउँदै दुवै शहरबीचको एकता र सहकार्यका सन्दर्भ पनि छलफल हुने विश्वास व्यक्त गरेका छन् ।