काठमाण्डु – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरोज डंगोल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) ललितपुरद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा डंगोलसहित १५० जनाभन्दा बढी कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरे । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
डंगोलसँगै ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उप प्रमुखका उम्मेदवार माओवादीका ललितपुर महानगर अध्यक्ष बाबुराजा बज्राचार्य, महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादी सहकारी केन्द्रीय विभाग सदस्य तथा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईं एमाले प्रवेश गरेका छन् ।
यसैगरी गत स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं २० का अध्यक्षका उम्मेदवार धनबहादुर महर्जन र वडा नं १६ का अध्यक्षका उम्मेदवार राजेन्द्र शाक्य पनि एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा माओवादीको ललितपुर महानगर कमिटीबाट पदाधिकारी र वडा कमिटी अध्यक्षहरूसहित ३० जना एमाले प्रवेश गरेका छन् ।
नेकपा माओवादी ललितपुर सहकारी विभागका प्रमुख रुपेश तिमल्सिना, कोषाध्यक्ष राजेन्द्र घिमिरे, सदस्यहरू नवराज विष्ट, नवराज सिवाकोटी तथा कान्छा बज्राचार्य पनि एमालेमा प्रवेश गरे ।
नेकपा (एमाले) ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका माओवादी केन्द्र तथा नेपाली काँग्रेसको विभिन्न भूमिकामा रहेका अगुवा नेता कार्यकर्ता एमालेमा समाहित भएको जानकारी दिए ।
कार्यक्रममा सम्बोधन गर्दै नवप्रवेशी सरोज डंगोलले नेकपा (एमाले) कम्युनिष्टको प्रमुख नेतृत्वकर्ता भएकाले एमालेलाई देशको मुख्य शक्ति बनाउनुपर्नेमा जोड दिए । उनले कम्युनिष्टको किल्ला ललितपुरमा एमालेलाई बलियो शक्ति बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया