आईजीपी फेर्ने योजना सफल नभएपछि गृहमन्त्रीले फेरे कुरा

आईजीपी फेर्ने योजना सफल नभएपछि गृहमन्त्रीले फेरे कुरा

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली तयार भएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिहिबार (आज) प्रहरी महानिरीक्षक (आईजीपी) फेर्ने चर्चा मिडियाले चलाए पनि त्यसमा सत्यता नभएको बताए ।

चितवनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘चर्चा कसैले चलाइदियो, बुझ्नेले कसरी बुझ्नुभयो, तपाईंको प्रश्न कुन ढंगमा आयो। आइजिपी फेर्ने कुरा मैले कहाँ भनेँ, तपाईंले कहाँ सुन्नुभयो ? कुनै ठाउँमा कुनै पत्रिकाले लेखिदियो होला? अर्काले बनाइदिएको हेडलाइन बोकेर तपाईंहरूजस्ता मूर्धन्य, इतिहास बोकेका पत्रकार हिँड्नु हुँदैन । त्यस्तो चर्चा कहाँ चल्या छ र भन्या ? बजारमा कहीँ कतै, बिजोग ठटकम, कन्तबिजोग डटकम, महाबिजोग डटकमले लेखेको कुराको जवाफ गृहमन्त्रीले दिएर हिँड्छ त ?’

गृहमन्त्री लामिछानेले अहिले यस्तो बताए पनि नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई फेर्न भरमग्दुर प्रयास गरेका थिए । आईजीपी कुँवरसँग असन्तुष्ट रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले कुँवर १० वैशाखमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासभामा सहभागी हुन गएका बेला पदबाट हटाउने प्रयास गरेका थिए ।

गृह मन्त्रालय स्रोतले महानिरीक्षक कुँवरलाई राष्ट्रिय सुरक्षा परिषद्मा एउटा पद सिर्जना गरेर व्यवस्थापन गर्ने गृहकार्य गृहमन्त्री लामिछानेले त्यसबेला गरे पनि सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओली उनको योजनामा सहमत नभएपछि रोकिएको जानकारी दियो ।

त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहालले भने हटाउने/नहटाउने विषयमा स्पष्ट कुरा राखेका थिएनन् । आईजीपीबारे ओलीको धारणा के हुन्छ भनेर मौन रहेका प्रधानमन्त्री ओलीको धारणा नफेरिने बुझेपछि मुख फोरेर फेरिन्न आफ्नो काम गर्न गत शुक्रबार प्रहरी महानिरीक्षक कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रहरी प्रमुख परिवर्तन हुँदैन, आफ्नो काम राम्रोसँग गर्नु भन्दै निर्देशन दिए ।

प्रधानमन्त्रीले आईजीपीहरूलाई बोलाएर निर्देशन दिएपछि आफूलाई पेलेर आईजीपीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको भन्दै गृहमन्त्री लामिछाने विखलबन्दमा परेका थिए ।

गत सोमबार प्रधानमन्त्री दाहाल चितवन पुगेका बेला पत्रकारहरूले आईजीपी परिवर्तनको हल्ला चलेको छ, यथार्थ के हो भनेर सोधेपछि स्पष्टीकरण दिए, ‘नेपाल प्रहरीमा आईजीपी परिवर्तन हुँदैन, त्यो हल्लामात्रै हो ।’ त्यतिमात्र होइन दाहालले आफूले तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर ‘ढुक्कले काम गर्नुस्’ भनेको पत्रकारहरूसँग बताए । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग दाहालले भने, ‘मैले ३ वटै आईजीपीलाई बोलाएर केही परिवर्तन हुँदैन, त्यही स्पिरिटमा काम गर्नुस् भनेको छु ।’

त्यसअघि प्रहरी प्रधान कार्यालयले पनि सूचना जारी गरेर प्रहरी संगठन र नागरिकस्तरमा निराशाजनक सन्देश प्रवाह गर्ने प्रचार भएको भन्दै खण्डन गरेको थियो । भोलिपल्ट प्रधानमन्त्रीले स्पष्टीकरण दिएर आईजीपी परिवर्तनको प्रयास भएको, तर आफूले नमानेको प्रष्टीकरण दिए । त्यसपछि अफ्ट्यारोमा परेका लामिछानेले आज चलाइएको हल्लामा सत्यता नभएको बताएर तर्किन खोजेका हुन् ।

पछिल्लो पटक कान्तिपुर पब्लिकेसनसका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने विषयमा गृहमन्त्री र आईजीपी कुँवरबीच मतभिन्नता देखिएको बताइन्छ । लामिछाने सिरोहियालाई तत्कालै नियन्त्रणमा लिन निर्देशन दिइरहेका थिए भने कुँवरले प्रधानमन्त्रीको ग्रीन सिंग्नल खोजिरहेका थिए । प्रधानमन्त्रीको ग्रिन सिग्नल पाएपछि नागरिकता विवादमा प्रहरीले ८ जेठमा पक्राउ गरेका सिरोहिया ९ दिन प्रहरी हिरासतमा बसेर छुटिसकेका छन् ।

यो प्रकरणबाट पनि लामिछाने रूष्ट थिए । ‘आमनागरिकमा सकारात्मक सन्देश दिने गरी कतिपय काम तत्कालै गर्नुपर्नेमा त्यो हुन सकेन’, गृहमन्त्रीको भनाइ थियो । निकटस्थ स्रोतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा नेतृत्वमा रहेका श्यामलाल ज्ञवालीलाई प्रहरी प्रमुख बनाउन चाहन्थे । त्यसमा ओली र प्रधानमन्त्री सहमत नभएपछि लामिछानेले आफ्नो बोली फेरेका हुन् ।