लमजुङ- लमजुङमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन हुने भएको छ । मंगलबार कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् ।
कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङको संयोजकत्वमा बसेको बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको हो ।
बैठकले गठबन्धनमा भएका राजनीतिक दलका केन्द्रीय निर्णयको स्वागत गर्दै केन्द्रीय निर्देशनबमोजिनम नै वडा तहदेखि नै प्रतिवेदन तयार पार्नका लागि सबै दलका एक-एकजना प्रतिनिधि रहने गरी चार सदस्यीय कार्यदल गठन गरेकाे कांग्रेस लमजुङका सभापति गुरुङले जानकारी दिए ।
कार्यदलमा कांग्रेसको तर्फबाट जिल्ला सभापति डा टकराज गुरुङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका संयोजक मधु अधिकारी गुरुङ, एकीकृत समाजवादी जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ रहेका छन् । जिल्ला तहमा कुन ठाउँमा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।
माओवादी लमजुङका संयोजक मधु अधिकारी गुरुङले केन्द्रीयस्तरबाट भएको गठबन्धन जिल्ला र वडा तहमा पुग्ने बताइन् । स्थानीय तह निर्वाचनमा तल्ला तहसम्म नै अध्ययन गरेर जनताको भावनाअनुसार उम्मेदवार छनाेट हुने गरी संयन्त्र निर्माण गरिने र आगामी दिनमा सोहीअनुसार उम्मेदवारको टुंगो लाग्ने एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारीले बताए ।
बैठकमा कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ , माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका संयोजक मधु अधिकारी गुरुङ , एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया