काठमाण्डु – गण्डकी प्रदेशको लमजुङ जिल्लामा चुनावी रौनक बढ्दो छ । लमजुङमा तीन नगरपालिकासहित आठ स्थानीय तह छन् । ०७४ को निर्वाचनमा आठमध्ये पाँचवटा पालिका एमालेले जितेको थियो भने कांग्रेसले दुई र माओवादी केन्द्रले एक पालिका जितेका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।
तालमेल हुँदा तीन पालिका माओवादी केन्द्रलाई दिएर एमालेले पाँच पालिका प्रमुखमा चुनाव लडेको थियो । त्यतिबेला कांग्रेस एक्लैले प्रतिस्पर्धा गरेको थियो । तालमेल गरेका कारण पाँचवटै पालिका प्रमुखमा एमाले विजयी भएको थियो भने माओवादीले एउटा पालिका मात्रै जितेको थियो ।
अहिले लमजुङमा तालमेलको ढाँचा फेरिएको छ । वैशाख ३० गते हुन लागेको निर्वाचनका लागि केही पालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ । विगतमा माओवादीको साथ पाएर जितेको एमालेलाई अहिले बिरासत जोगाउने चुनौती छ । त्यसमाथि एकीकृत समाजवादीले भोट काट्ने चिन्ता पनि एमालेलाई छ । विगतमा अधिकांश पालिकामा थोरै मतान्तरले जितहार भएका कारण यसपटक कांग्रेस जित हासिल गर्ने रणनीतिमा देखिएको छ । त्यसकारण लमजुङको स्थानीय निर्वाचनको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
मनोनयनअघि पाँचदलीय तालमेल हुने भने पनि जसपा र एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । ०७४ मा एमालेले बेसीसहर, राइनास, सुन्दरबजार नगरपालिकासहित क्व्होलासोथर र मस्र्याङ्दी गाउँपालिका जितेको थियो । बेसीसहर नगरपालिकामा एमाले उम्मेदवार ७ हजार ६ सय २४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेस उम्मेदवारले ७ हजार ३ सय २७ मत ल्याए । राइनास नगरपालिका प्रमुख पदमा एमालेका उम्मेदवारले ४ हजार २ सय ५७ मत ल्याएका थिए भने कांग्रेसका उम्मेदवारले ४ हजार ८२ मत ल्याएका थिए । उपप्रमुख कांग्रेसले जितेको थियो ।
सुन्दरबजार नगरपालिका प्रमुख पदमा एमालेका उम्मेदवारले ४ हजार ९ सय ६९ मत ल्याएका थिए भने कांग्रेसका उम्मेदवारले ३ हजार ४ सय ८५ मत ल्याएका थिए । यहाँ पनि उपप्रमुख कांग्रेसले जितेको थियो । क्व्होलासोथर गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेदवार ३ हजार १ सय ४४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका उम्मेदवार १ हजार ९ सय मत पाएका थिए । मस्र्याङ्दी गाउँपालिका अध्यक्ष पदमा एमालेका उम्मेदवारले ४ हजार ७ सय ७१ मत ल्याएका थिए भने कांग्रेसका उम्मेदवारले ३ हजार ८ सय ११ मत ल्याएका थिए ।
कांग्रेसले मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिका जितेको थियो । मध्यनेपाल नगरपालिका प्रमुख पदमा कांग्रेसका उम्मेदवारले ५ हजार ९ सय ६८ मत ल्याएका थिए भने माओवादी उम्मेदवार ४ हजार ५ सय ४७ मत ल्याएर पराजित भएका थिए । उपप्रमुख भने एमालेले जितेको थियो । दूधपोखरी गाउँपालिकामा कांग्रेसका उम्मेदवारले २ हजार ४ सय १३ मत ल्याएका थिए भने माओवादी उम्मेदवार १ हजार ७ सय ५६ मत ल्याएर पराजित भएका थिए ।
माओवादी केन्द्रले दोर्दी गाउँपालिका जितेको थियो । यो पालिकामा माओवादी उम्मेदवारले ३ हजार ६ सय २४ मत ल्याएर जितेका थिए भने कांग्रेसका उम्मेदवारले ३ हजार ३ सय ५१ मत ल्याएका थिए । यहाँ जितहारको मतान्तर २ सय ७३ छ । उपाध्यक्ष भने एमालेले जितेको थियो । माओवादी अहिले यो पालिका जोगाउने रणनीतिमा छ । लमजुङ माओवादी नेता देव गुरुङको गृहजिल्ला पनि हो । स्थानीय निर्वाचनका लागि जिल्लामा १ लाख ३१ हजार ४ सय ९४ मतदाता छन् । यीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४ सय ५३ महिला छन् ।












प्रतिक्रिया