उपत्यकाको चौडा सडकमा अब ‘लेजर स्पिड गन’


काठमाडौं – बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–कलंकी र कोटेश्वर–सूर्यविनायक सडकखण्डमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ । महाशाखाले यसका लागि तीनवटा ‘लेजर गन’ ल्याइसकेको छ ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले एक सातापछि तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही हुने जानकारी दिए । ‘लेजर स्पिड गन’ नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसअघि प्रयोग भएको राडर स्पिड गन हो,’ उनले भने, ‘लेजर स्पिड राडारभन्दा अत्याधुनिक छ । यसले सवारीसाधनको गति मापन गर्नेछ । कति दूरीबाट सवारीसाधन गुडेको भन्ने विवरण पनि यसले दिनेछ ।’

ट्राफिक महाशाखाले कोटेश्वर–कलंकी सडक र कोटेश्वर–सूर्यविनायक सडकमा सवारीसाधनको गति पनि तोकेको छ । महाशाखाका अनुसार अबदेखि यी सडकखण्डमा प्रतिघन्टा ५० किमिका दरले मात्रै सवारीसाधन हाँक्न पाइनेछ । सर्भिस ट्र्याकमा भने प्रतिघन्टा २० किमिका दरले हाँक्नु पर्नेछ । तोकिएभन्दा धेरै गतिमा हाँकिएका सवारीसाधनलाई लेजर स्पिड गनका आधारमा नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिनेछ ।

‘कोटेश्वर–कलंकी सडक र कोटेश्वर–सूर्यविनायक सडकमा सवारीसाधनको गति ५० किमि प्रतिघन्टा तोकिएको छ । निर्धारितभन्दा तीव्र गतिमा हाँकिएका सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरिनेछ,’ महाशाखा प्रमुख एसएसपी पन्तले भने । महाशाखाका अनुसार लेजर स्पिड गनबाट सवारीसाधनको गति नाप्ने कार्य सोमबारबाटै सुरु भएको छ । नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement