लक्ष्मण थारुको चेतावनीः टिकापुर घटना फेरि घट्न सक्छ

लक्ष्मण थारुको चेतावनीः टिकापुर घटना फेरि घट्न सक्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाइएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःशर्त रिहाई गर्न थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले माग गरेको छ ।

समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन गर्नका लागि तात्कालीन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल दास नेतृत्वको न्यायिक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरु तुरुन्त सार्वजनिक गर्नुपर्ने पनि माग राखेको छ ।

कार्यक्रममा थरुहट नेता लक्ष्मण थारुले आफू ४२ महिना लामो जेल जीवनपछि पहिलोपटक मिडियामा आएको सुनाउँदै आफूहरु फेरी मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेको बताए ।

उनले भने, ‘हामीलाई झुठा मुद्दा लगाएर ४२ महिनासम्म जेल राखियो, अझैपनि हाम्रा धेरै साथीहरु जेलमै छन् । अब हामी फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेका छौं ।’ उनले आफूहरुले न्याय र अधिकार नपाएको गुनासो पोखे । उनले भने, ‘हामीलाई राज्यबाट जहिलेपनि हेप्ने काम भयो । सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दैन, तर झुठा मुद्दा लगाएर यो देशका २५ लाख थारुहरुलाई तर्साउने काम गरेको छ ।’

त्यस्तै, उनले टीकापुर घट्नाबारे लाल आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गरे । उनले आफूहरुले कुनैपनि हालतमा ७ वटा प्रदेश नमान्ने घोषणा गरे । उनले थपे, ‘अखण्ड सुदुर पश्चिम माग्नेले त्यही पाए, मधेश प्रदेश माग्नेले पनि पाए, किराँतहरुले पाउँदैछन, हामी थारुहरुले किन नपाउने ?’

आगामी भदौ ७ गतेबाट देशभरिका पाँच लाख थारुहरु उतारेर सम्मेलन गर्ने पनि थारुको भनाइ छ ।