काठमाण्डु – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ ।
सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरंगी पर्वका रूपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन् ।
विशेषगरी काठमाण्डु उपत्यकासहित प्रमुख शहरका व्यापारिक कम्प्लेक्स झिलिमिली बत्तीबाट सजिएका छन् । दीपावलीले काठमाण्डु उपत्यका लगायत प्रमुख शहर झिलिमिली बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै आज उल्लासमय बनेको छ ।
काठमाण्डुको नयाँ सडक, नयाँ बानेश्वर, असन, इन्द्रचोक लगायत व्यापारिक क्षेत्रमा तिहारको किनमेलका लागि सर्वसाधारणको घुइँचो लागेको छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहीबार बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ । घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङ लगायत स्थानमा सरसफाइ गरिएका छन् ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म ५ दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।




प्रतिक्रिया