काठमाण्डु – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरु सहभागी भएका छन् ।
शीर्ष नेताहरुको बैठक शनिवार बोलाइएकोमा माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाण्डु बाहिर भएका कारण स्थगित भएको थियो । बालुवाटारमा जारी बैठकमा मन्त्रिमण्डल गठन र मन्त्रालयको बाँडफाँडबारे छलफल हुने बताइएको छ ।
शीर्ष नेताहरुको बैठकमा सहमती भए सोमबारभित्र नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । सर्वोच्च अदालतको परमादेशपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त भएको आज २७ दिन हुंदा समेत मन्त्रीमण्डल वन्न सकेको छैन ।
मन्त्रिमण्डल नहुंदा संसदले बिजनेस समेत पाउन सकेको छैन । त्यसका साथै खोपको वितरण प्रणाली समेत भद्रगोल भएको भन्दै सरकारको चौतर्फी आलोचना सुरु भएको छ । यसैगरी आजै सत्तारुढ गठवन्धनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
गठबन्धनको कार्यदलले तयार गरेर शीर्ष नेतृत्वलाई बुझाइसकेको न्यूनतम साझा कार्यक्रम आज ४ बजे सिंहदरवारमा औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम छ । न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताहरु समेत सहमत भइसकेका छन् । आज त्यसमा हस्ताक्षरसहित सार्वजनिक गरिनेछ ।
कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेस नेताहरु डा. मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य थिए ।




प्रतिक्रिया