काठमाण्डु – परम्परागत शैलीले देशमा क्रान्ति पनि नहुने र देशलाई निकास दिन नसक्ने कम्युनिस्ट नेताहरूले बताएका छन् ।
नेकपाले शनिबार राजधानीको संवाद डबलीमा ‘क्रान्तिकारी कम्युनिस्ट एकता आजको राष्ट्रिय आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरूले जेनजी विद्रोहले पाठ सिकाएको समेत बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले नेपालका क्रान्तिकारी कम्युनिस्टहरूले परम्परागत शैलीलाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए ।
देश र जनताले नेपालका क्रान्तिकारीहरू एक भएको हेर्न चाहेको र वर्तमान आवश्यकता पनि त्यहीँ भएकाले आफूहरूले साझा एजेण्डा बनाएर एकतालाई अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसले देशमा क्रान्तिकारीहरूबीचको एकता अत्यावश्यक भए पनि सबै अटाउने साझा कार्यक्रम अभाव रहेको बताए । श्रीसले कतिपय अवस्थामा कार्यक्रम नमिल्दा पनि भावनामा बगेर एकता हुने र कतिपय बेला कार्यक्रम साँझा हुँदा पनि एकता नहुनुले देशमा क्रान्तिकारी शक्ति कमजोर भएका बताए ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य जाग्रित रायमाझीले क्रान्तिकारी कम्युनिस्टहरूबीच एकता अत्यावश्यक भए पनि नेताहरूको निजी स्वार्थले त्यसलाई रोक्ने गरेको बताए । रायमाझीले नेपालका कम्युनिस्टलाई कमजोर बन्नुमा नेताहरू जिम्मेवार रहेको बताउँदै भने, ‘समयमा ओली अहंकार र प्रचण्ड घमण्डले क्रान्तिकारी कम्युनिस्टहरूलाई थप कमजोर बनाएका छन् ।’
रायमाझीले पुँजीवादी भूमण्डलीकरणले विश्वका कम्युनिस्टहरूलाई कदम–कदममा अवरोध गरेको सन्दर्भमा विज्ञान र प्रविधिलाई उत्पादनमा जोड्ने र सोहीअनुसार कम्युनिस्टहरूले आफूलाई परिमार्जित गरे मात्रै देश परिवर्तन हुने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणप्रसाद शर्माले कम्युनिस्टहरूबीच एकताको मुख्य बाधक भनेको नीतिभन्दा नेतृत्व प्रधानता भएको बताए । नेकपा मशालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समयमा क्रान्तिकारीहरूबीच एकता जरुरी रहेको बताए ।
मार्क्सवादी एकता समाजका संयोज श्रीकान्त पण्डित, नेकपा बहुमतका कार्यालय सदस्य कृष्ण धमला, मार्क्सवादी महासचिव युवराज कफ्ले, नेकपा कार्यालय सदस्य इन्दिरा अधिकारी, समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य अशोक सुवेदी, नेकपा नेता शरणविक्रम मल्ल, स्वतन्त्र बाम बुद्धिजीवी भूमिनन्दा देवकोटा, डाइलेक्टीकल सोसाइटीका संयोजक विनोद लोहनी, नेकपा सचिवालय सदस्य पुस्कर गौतम र महादिप पोखरेलले परम्परागतभन्दा नयाँ तरिकाले कम्युनिस्टले एकता गरी क्रान्तिमा जुट्नुपर्ने धारणा राखेका छन् ।




प्रतिक्रिया