काठमाण्डु – चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ ।
सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व संकलन भएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । बाँकी दिनमा ३ खर्ब ६७ अर्ब ५१ करोड राजस्व संकलन गर्नुपर्नेछ । त्यसका लागि दैनिक करिब १९ अर्ब ३४ करोड बराबर संकलन गर्नुपर्ने हुन्छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व संकलनतर्फ लक्ष्यको ७६ दशमलव २० प्रतिशत प्रगति भएको छ । कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म १० खर्ब १० अर्ब १६ करोड ३ लाख संकलन भएको छ ।
गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म १ खर्ब २ अर्ब ३२ करोड ४३ लाख प्राप्त भएको छ । अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख प्राप्त गर्ने लक्ष्य रहेकोमा हालसम्म २४ अर्ब ११ करोड १२ लाख मात्रै प्राप्त भएको छ । जुन लक्ष्यको ४५ दशमलव ११ प्रतिशत बराबर हो ।
सो अवधिमा अन्य प्राप्ति शीर्षकमा ६ अर्ब ५० करोड ५३ लाख संकलन भएको छ । यससँगै सरकारको कुल प्राप्ति ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख पुगेको छ । जुन वार्षिक लक्ष्यको ७४ दशमलव ५४ प्रतिशत हो ।
कूल सरकारी खर्चतर्फ १४ खर्ब ४ अर्ब ९८ करोड ८६ लाख बराबर पुगेको छ । यो कूल लक्ष्यको ७१ दशमलव ५३ प्रतिशत हो । शुक्रबार मात्रै ५ अर्ब ३६ करोड ८२ लाख खर्च भएको छ ।
खर्चको प्रकृतिअनुसार चालुतर्फ ८० दशमलव ४२ प्रतिशत रहेको छ । कूल ११ खर्ब ८० अर्ब ९८ करोडको लक्ष्यमध्ये ९ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख खर्च भइसकेको छ ।
विकास निर्माणको काममा खर्च हुने पुँजीगततर्फ १ खर्ब ४२ अर्ब २३ करोड ६८ लाख पुगेको छ । जुन लक्ष्यको ३४ दशमलव ८७ प्रतिशत हो । चालु आवका लागि ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख पुँजीगत खर्च गर्ने लक्ष्य तय गरिएको थियो ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फको खर्च ८३ दशमलव ४१ प्रतिशत पुगेको छ । वित्तीय व्यवस्था विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि खर्च गरिन्छ । वित्तीय व्यवस्थातर्फ कूल ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख लक्ष्यमध्ये ३ खर्ब १२ अर्ब ९९ करोड २३ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।




प्रतिक्रिया