रविबारे गृहमन्त्री र प्रचण्डका परस्पर विरोधी धारणा

रविबारे गृहमन्त्री र प्रचण्डका परस्पर विरोधी धारणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल (प्रचण्डले पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे एकैदिन छुट्टाछुट्टै स्थानमा परस्पर विरोधी धारणा व्यक्त गरेका छन् ।

प्रचण्डले मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा र गृहमन्त्री लेखकले सुर्खेतको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा परस्पर विरोधी घारणा व्यक्त गरेका हुन् ।

प्रचण्डले लामिछानेलाई हाजिरी जवानीमा छोड्नुपर्ने र गृहमन्त्री लेखकले प्रचण्डले अनुसन्धान र अदालतलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिएको बताएका हुन् ।

चितवनमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए पनि हुने बताएका छन् ।

‘मैले सरकार र सरकारवादी पार्टीका नेताहरूलाई भनेको छु, किन राख्नपर्‍यो हिरासतमा हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि ?,’ प्रचण्डले भनेका छन्, ‘जे जे जाँचबुझ गर्नुछ गरे हुन्छ नि। स्वयम रविले पनि अदालतको फैसला जेसुकै होस् मान्न तयार छु भनेपछि त्यो रवि लामिछानेसँग यति धेरै तर्सिनुपर्ने ?’

रविसँग तर्सिएको देख्दा कांग्रेस र एमाले कमजोर रहेको प्रमाण अन्त खोज्न नपर्ने अवस्था आएको उनको भनाइ छ ।

यता गृहमन्त्री लेखकले विपक्षी दलको नेताले अनुसन्धान र अदालतलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनु दुर्भाग्यपूण भएको बताए । ‘म फेरि भन्छु अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित गर्नेगरी कसैले पनि बोल्ने कुरा लगत हो । विपक्षी दलको नेताले नै यस्ता गतिविधि गर्नु त झन् दुर्भाग्यपूर्ण हो । अनुसन्धान गर्नु परेनरु अदालतले के गर्छ त्यो त अदालतको कुरा हो नि । तर, अनुसन्धान र अदालतलाई प्रभावित पार्नेगरी कसैले पनि बोल्नु भए‍न,’ गृहमन्त्री लेखकले भने ।

प्रचण्डले सोमबार सामाजिक सञ्जालमा रविमाथि सरकारले अलोकतान्त्रिक, निरंकुश र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका थिए ।

‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु’, प्रचण्डले सञ्जालमा लेखेका थिए ।