चीनसँगका ६ नाका व्यवस्थित गरिन्छः उद्योगमन्त्री भट्ट

चीनसँगका ६ नाका व्यवस्थित गरिन्छः उद्योगमन्त्री भट्ट


मरिण – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मरिणमा औद्योगिक क्षेत्रका विषयमा अध्ययन भएको र यसलाई निष्कर्षमा पु¥याइने बताएका छन् ।

मरिण गाउँपालिकामा सिन्धुली उद्योग वाणिज्य सङ्घ मरिणले आयोजना गरेको मरिण महोत्सवको आज उद्घाटन गर्दै मन्त्री भट्टले सोमबार मरिणका फाँटले नेपालको राजधानीमा अन्न पु¥याएको थियो तर आज मरिण खोलाले उर्वरा भूमि खाइरहेकाले चुरे तथा नदी नियन्त्रण गर्नतर्फ स्थानीय, प्रदेश र सङ्घीय सरकार अघि बढेको बताए ।

‘हिजो हामी अन्न विदेश निर्यात गर्थे आज भारतबाट वार्षिक रु ३५ अर्बको चामल आयात हुन्छ, हिजो चामल निर्यात गरेर विभिन्न वस्तु आयात गर्ने नेपाल अहिले चामल आयात गरिरहेको छ, यस्तै गर्दा मुलुकमा व्यापार घाटा बढिरहेको छ’, उनले भने । उनले देशका विभिन्न नाकाहरुलाई व्यवस्थित र आधुनिकीकरण गरिने तथा चीनसँग ६ वटा नाका व्यवस्थित गरिने, तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थित गर्दै दुई देशीय व्यापारलाई कसरी अघि बढाउन सक्छौँ भन्ने विषयमा सरकारले आवश्यक काम गरिरहेको बताए ।

हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा ‘आइसिपी पोर्ट’को उद्घाटन गरेकाले नेपालका उत्पादित वस्तुहरु निर्यात गर्दै व्यापार घाटालाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले उत्पादित वस्तुहरु सहजै तेस्रो मुलुकमा पठाउन सहज हुने बताए ।आजदेखि शुरु भएको महोत्सव यही माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।