काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यासको अभाव महसुस भए इन्डक्सन चुलो खरिद गर्न आग्रह गरेका छन् ।
सरकारले बिहीबार निमित आयोजना गर्ने पत्रकार सम्मेलमा बोल्दै मन्त्री भट्टले बजारमा ग्यासको अभाव नरहेको दाबी गर्दै ग्यासको विकल्पमा इन्डक्सन चुलो खरिद गर्न आग्रह गरेका हुन् ।
मन्त्रालय मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग इन्डक्सन चुलो रहेको र सुलभ मूल्यमा उपलब्ध गराइने भट्टले बताए ।
‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग इन्डक्सन चुलो छ,’ उनले भने, ‘आम उपभोक्ताहरुलाई इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गर्छाैं ।’
२०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा बजारमा ग्यासको अभाव भएपछि चीन सरकारले नेपाल सरकारलाई अनुदानमा इन्डक्सन चुलो उपलब्ध गराएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार उक्त चुलोमा स्टिलका सबै किसिमका भाँडो प्रयोग गर्न मिल्छ ।
करिब ६ हजार थान रहेको उक्त इन्डक्सन चुलोको बिक्री पछिल्लो समय बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रवन्धक नेत्र सुवेदीले बताए ।




प्रतिक्रिया