काठमाण्डु – नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भएको आरोप लगाएका छन् ।
मंगलबार प्रेस चौतारी नेपाल, कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले सभामुख सापकोटा प्रचण्डको कार्यकर्ता भएको बताएका हुन् । उनले सभामुखले एमालेलाई भेदभावपूर्ण व्यवहार देखाएको आरोप लगाए ।
‘सभामुखले दिनु पर्ने निष्पक्षता दिन सक्नु भएन । माओवादी केन्द्रको विशेषगरी अध्यक्ष प्रचण्डको कार्यकर्ताको रुपमा प्रस्तुत हुनु भएको छ’ नेता भट्टले भने, ‘हामीलाई कारबाही गरेको सूचना दुई घण्टा भित्रै प्रकाशित गरेर निर्वाचन कार्यालयलाई पठाउनु भयो । तर, एमालेले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नु भएन ।’
साथै उनले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै नेता भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् ।
एमाले सदूरपश्चिमको इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले त्यसलाई प्रष्ट पारेका हुन् ।




प्रतिक्रिया