काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले स्थानीय उत्पादन प्रयोग गरी निर्यातमुखी व्यवसाय गर्नुपर्ने बताएका छन् । उनले नेपाली कला प्रयोग गरेर निर्यातजन्य सामग्री उत्पादन गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
काठमाडौंमा सुरु भएको नेपाल फर्निचर तथा फर्निसिङ्ग महासंघको पाँचौं साधारणसभा तथा तेश्रो अधिवेसनमा व्यवसायीहरुले नेपालमा खेर गइरहेका सामग्री प्रयोग गर्न नपाएपछि त्यही सामग्री आयात गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेपछि मन्त्री भट्टले स्वदेशी कामदार र सामग्रीको प्रयोगबाट निर्यातमुखी व्यापार गरे सरकार सहयोगी बन्न तयार रहेको बताएका हुन् ।
अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री भट्टले भने, ‘व्यवसायीले स्थानीय काष्ठजन्य पदार्थको प्रयोग गर्न नपाएकोबारे नीतिगत तहमा कुरा गर्छौं, छलफलमा लैजान पहल गर्ने छु ।’
काठजन्य पदार्थ बाहिरबाट ल्याउनु पर्नेे आवश्यकता नरहेको भन्दै मन्त्री भट्टले कामदार र कच्चा पदार्थ अभाव पूर्ति गर्न सरकारले सहयोग गर्ने आश्वासन दिए । सरकार समृद्ध नपाल सुखी नेपालीको लक्ष्य प्राप्तीका लागि उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न तयार रहेको उनको भनाइ थियो ।
सरकारले आयातभन्दा पनि निर्यातमुखी व्यापारमा बढावा दिने बताउँदै उनले भने, ‘हाम्रै जंगलमा काठ खेर गैरहेका छन् बाहिरबाट किन ल्याउनु पर्यो ?’
उपभोग्य सामग्री अभाब हुन नदिन सरकार लागिरहेको भन्दै अहिले स्थानीय उत्पादनमा जोड दिन कृषिमा ठूलो लगानी आवश्यक रहेको बताए । ‘उद्योगबिना मुलुककोे विकास असम्भव छ भन्ने सरकारले बुझेको छ,’ मन्त्री भट्टले भने, ‘काम गर्नेे कुरामा सरकार सहयोेगी बन्छ ।’




प्रतिक्रिया