कैलाली – ४ : गठबन्धनबाट बलायर उम्मेदवार बनेपछि लेखराज भट्टलाई सहज

कैलाली – ४ : गठबन्धनबाट बलायर उम्मेदवार बनेपछि लेखराज भट्टलाई सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन रोचक हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्व मन्त्री एवंम् नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र एमालेबाट पूर्व मन्त्री समेत रहेका एमाले केन्द्रीय सचिव लेखराज भट्टबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

बलायर डोटीबाट तल झरेका हुन् । एकीकृत समाजवादीका नेता प्रेम आलेले डोटीबाट नै चुनाव लड्ने अडान राखेपछि बलायरलाई व्यवस्थापन गर्न प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई कैलाली ४ बाट उम्मेदवार बनाएका हुन् । बलायर कांग्रेसभित्र सुरुदेखि नै गठबन्धन गर्न नहुने भनाई राख्ने नेतामध्ये पर्छन ।

कैलाली क्षेत्र नम्बर ४ मा टिकटका दावेदार नेता सुनिल भण्डारी थिए । उमेरले पनि अन्तिम पटक निर्वाचन लड्ने इच्छा देखाएका भण्डारी प्रधानमन्त्री देउवाका सहपाटी हुन् । भण्डारी यसअघि लामो समय कोइराला पक्षमा थिए । तर,०७४ पछि भने उनि देउवाको पक्षमा खुलेका थिए ।

कांग्रेस प्रदेश सभापति कैलाली ४ मा उम्मेदवार बन्ने भएपछि भण्डारीलगायत कांग्रेसको ठुलो हिस्सा असन्तुष्ट बनेको छ । यो क्षेत्रमा टिकटका लागि कांग्रेसबाट नैनसिंह महर,प्रकाश बम, भोजराज भट्ट र लक्ष्मीराज पाठक थिए भने एकिकृत समाजवादीबाट दीर्घ सोडारी र माओवादी केन्द्रबाट कृष्ण चौधरी र लक्षीराम आर्चायको नाम सिफारिस थियो । तर, नाम नै सिफारिस नभएका बलायर उम्मेदवार बनेसंगै कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

भण्डारी ०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार लेखराज भट्टसंग पराजित भएका थिए । भण्डारी उम्मेदवार भए यसपटक कांग्रेस जित्ने धेरैको विश्लेषण थियो । तर, बलायर उम्मेदवार भएसंगै भट्टलाई सजिलो बनेको चर्चा कैलालीमा छ । किनभने त्यो अवस्थामा माओवादी केन्द्रको भोट बलायरभन्दा बढी भट्टले नै पाउने विश्लेषण हुन थालेको छ ।

भण्डारी, भट्ट र बलायर तिनै जनाको पुख्र्योली घर डोटी हो । अझ भण्डारी र भट्टबीच त पारिवारिक सम्बन्ध नै छ । भण्डारी एमाले नेता भट्टका नाताले दाई समेत पर्छन । कांग्रेस नेता भण्डारी मर्नुअघि एक चोटी निर्बाचित भएर जनताको सेवा गर्ने धोको रहेको बताउंदै आएका छन् ।

भण्डारीले पार्टीले आधिकारीक निर्णय नगरेकाले अहिले नै केही नभन्ने बताउंछन् । तर, बलायर भने क्षेत्र नम्बर ४ पुगेर पार्टीका नेता कार्यकर्ताहरुसंग छलफलमा जुटिसकेका छन् । विपक्षीले उनलाई टुरिष्ट उम्मेदवार भनेर प्रचार गर्न थालेका छन् ।

कैलालीको ४ र ५ नम्बर क्षेत्र कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्छ । तर, यहां कांग्रेसकै उम्मेदवारहरु पराजित हुंदै आएका छन् । एमाले नेता भट्ट यसअघि समेत कांग्रेसकै भोट पाएर निर्वाजित हुने गरेका थिए ।

‘माओवादीबाट निर्वाचित हुंदा पनि उहां नातागोताको भोटले जित्ने हो । यसपटक सुनिल भण्डारी उम्मेदवार नभएपछि उहांलाई झनै सजिलो भएको छ । त्यसमाथि माओवादीको भोट समेत बलायरभन्दा उहांले नै बढी पाउनुहुन्छ । कैलालीका एक कांग्रेस नेताले भने । ’

बलायर यो क्षेत्रमा पहिलो पटक उम्मेदवार बन्न लागेका हुन् । तर, भट्ट भने ०६४ र ०७४ मा यो क्षेत्रबाट निर्वाचित भएका सांसद हुन् । उनि ०७० मा भने पराजित भएका थिए । भट्टले गत निर्वाचनमा ३१ हजार ३ सय ५९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी भण्डारीले २० हजार ९ सय ६० मत प्राप्त गरेका थिए ।

यसपटक गठबन्धनका कारण उनलाई केही अफ्ठेरो हुन सक्ने विश्लेषण गरिएपनि जनस्तरमा उनको पकट राम्रो रहेको धेरैको भनाई छ । भट्टकै कारण सुदुरपश्चिम प्रदेशको राजधानी गोदवारीमा बनेको फाइदा समेत यसपटक उनलाई हुने देखिन्छ । गोदावरी समेत उनकै निर्वाचन क्षेत्रमा पर्दछ ।

भट्टको क्षेत्रमा एमाले गठबन्धनभन्दा १७ हजार मतले पछाडी छ । तर, स्थानीय निर्वाचन र केन्द्रको निर्वाचनमा त्यसले फरक पर्ने धेरैको बुझाई छ । भट्टको क्षेत्रमा एमालेको भोट मात्रै २० हजारभन्दा माथि छ । उनले माओवादी केन्द्र र डोटेली समुदायको भोट पाउने अपेक्षा गरिएको छ । बलायरले गठबन्धनको सबै भोट पाए भने सजिलै जित्ने सम्भावना छ ।

नेपाली कांग्रेसभित्र भण्डारी समुहको समर्थन समेत उनलाई हुने धेरै विश्लेषण गरेका छन् । बलायर कैलाली क्षेत्र नम्बर ४ मा आएकोमा कांग्रेसकै नेता कार्यकर्ता असन्तुष्ट छन् ।