काठमाण्डु– नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको स्थायी समितिको निर्णय नमान्ने सांसदहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । आज बसेको एमाले संसदिय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेपछि भट्टको यस्तो धारणा आएको हो । सुदुरपश्चिममा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री छन । उनको नेतृत्वमा माधव नेपाल पक्षका तीन जना सांसद मन्त्री समेत छन् ।
पुर्वमन्त्री समेत रहेका नेता भट्टले पार्टीको निर्देशन नमान्ने सांसदहरुलाई विधानवमोजिमै कार्वाही गरिने स्पष्ट पारे । ‘ मैले उहांहरुले संसदिय दलको बैठक बसेर प्रदेश सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको सुने, तर औपचारिक जानकारी त आएको छैन । यदि त्यो हो भने हामी स्पष्टिकरण सोध्छौं र विधानअनुसार कार्वाही गर्छौ ।’ उनले काठमाण्डुपाटीसंग भने ।
नेता भट्टले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी महासचिव ईश्वर पोखरेलसंगको छलफलपछि थप कदम चाल्ने बताए ।
बुधबार बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । एमालेको स्थायी कमिटीको १० जेठमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो । तर, उक्त निर्देशनविपरित प्रदेशको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
सुदुरपश्चिम प्रदेशको प्रदेशसभामा एमालेबाट निष्कासित माधव नेपाल पक्षका सांसदहरुको बहुमत छ । नेता भट्टले भने बहुमत अल्पमतको कुरा नहुने भन्दै पार्टीको निर्देशनअनुसार कार्वाही प्रक्रिया अघि बढाईने स्पष्ट पारे ।




प्रतिक्रिया