काठमाण्डु – नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली पुगेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला लेखराज भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् ।
लेखराज भट्टका स्वकीय सचिव उद्धव भट्टराईले भोलि (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका बारेमा छलफल भएकाले सोही छलफलमा सहभागी हुन कैलाली आएको बताए । यसैगरी बुधबार कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजका बारेमा छलफल रहेको उनले जानकारी दिए ।
स्वकीय सचिव भट्टराईले एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जकै रुपमा लेखराज कैलाली आएको दाबी गरेका छन् । यता नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभए एमालेमा रहन नसक्ने स्थिती आउने बताएका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।
आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन् । प्रतिनिधिसभा बैठक पछि सिंहदरबारमा आफू निकटका नेता सँग १० बूँदे सहमति कार्यान्वयनमा चुनौती थपिएको बताएका थिए । सिंहदरबारमा प्रतिनिधिसभा सदस्य झपट रावल र एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीसँग रावलले १० बुँदे सहमति कार्यान्वयन आवश्यक रहेको र उक्त सहमति कार्यान्वयन नभए समस्या हुने बताएका हुन् ।
जोशी एमालेमा विवाद हुँदा रावलले गठन गरेको समानान्तर कमिटीको सुदूरपश्चिम अध्यक्ष थिए । सिंहदरबारभित्रै भएको छलफलमा रावलले आइतबार बिहान ओली निवासमा भएको छलफलबारे जानकारी गराएका थिए । उनले अध्यक्ष ओलीले सुदूरपश्चिममा भट्टलाई इन्चार्ज बनाउन चाहेको भन्दै १० बुँदे कार्यान्वयन नभए एमाले भित्रै रहेकाहरू पनि नरहने आशय व्यक्त गरेका थिए ।




प्रतिक्रिया