अत्तरियालाई आर्थिक राजधानी बनाउन वाम गठबन्धनलाई भोट : लेखराज भट्ट


अत्तरिया– नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्टले कैलालीको अत्तरियालाई आर्थिक राजधानी बनाउनका लागि वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आव्हान गरेका छन्।

 

 

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम दिन प्रेस विज्ञप्ति जारी गर्दै नेता भट्टले आर्थिक राजधानी सहित विकास निर्माणका कार्यलाई अगाडि बढाउन वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने जनाएका हुन्।

 

 

‘कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा हामी वाम गठबन्धनका उम्मेदवारहरू अत्तरियालाई प्रादेशिक आर्थिक राजधानी बनाउने प्रतिवद्धता गरेर चुनावी मैदानमा छौं। यो सपना हामी उम्मेदवारको मात्र नभएर सम्पूर्ण जनता र मतदाताको भएकाले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेर सपना पूरा गर्न हरेक मतदाता आतुर रहेको हामीले पाएका छौं,’ विज्ञप्तिमा उल्लेख छ।

 

 

वाम गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि लेखराज भट्ट तथा प्रदेशसभा १ मा दीर्घ सोडारी र प्रदेशसभा २ मा कृष्णराज सुवेदी निर्वाचनको प्रतिस्पर्धामा रहेका छन्।

 

 

‘विकास निर्माण सँगसँगै थुप्रै आदिवासी जनजाति, रानाथारु, दलित, गरीब समुदायका राजनीतिक र सामाजिक अधिकारलाई संस्थागत गर्दै गाउँगाउँसम्म पुर्याउनुपर्ने दायित्व समेत संघीय संसद र सरकारको काँधमा छ। त्यो जिम्मेवारी पूरा गर्न उपयुक्त व्यक्ति नै जनताको प्रतिनिधि भएर संसद र सरकारमा पुग्नुपर्ने बाध्यकारी अवस्थाका बारेमा तपाई जानकार हुनुहुन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कमजोर राजनीतिक क्षमता र पहुँच भएका व्यक्ति र पार्टीलाई मतदान गर्दा समग्र क्षेत्रको विकास प्रक्रिया नै अवरुद्ध हुने गरेको विगतका अनुभवले देखाइसकेको छ।’

 

 

तराई र पहाड गरेर विविधतापूर्ण भूगोल भएको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताले वाम गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्नेमा विश्वस्त रहेको नेता भट्टले उल्लेख गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement