काठमाण्डु – विश्व दृष्टि दिवसका अवसरमा लियो क्लब अफ काठमाण्डु पद्मसम्भव दक्षिणकालीले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।
लायन्स क्लब अफ काठमाण्डु पद्मसम्भव दक्षिणकालीको व्यवस्थापनमा दक्षिणकालीको सेतीदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय ६१ जना व्यक्तिको निःशुल्क आँखा जाँच गरिनुका साथै उनीहरूलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिएको छ ।
जसमध्ये १० जनाको निःशुल्क शल्यक्रिया शिविरलाई प्राविधिक सहयोग गरेको कीर्तिपुर आँखा अस्पतालमा गरिने क्लबका अध्यक्ष लायन सुन्दर आचार्यले जानकारी दिए । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले विश्व दृष्टि दिवसका अवसरमा जेष्ठ नागरिकहरुको गुम्न लागेको दृष्टि फकार्उने सेवामा जुटेकोमा खुशी व्यक्त गरे ।
“समाजप्रति उत्तरदायित्व भएर अपठ्यारो परिस्थितिमा समेत सामाजिक सेवामा समर्पित भएकोमा सिंगो नगरपालिका खुशी छ ।”, नगर प्रमुख बस्नेतले भने, “आगामी दिनमा पनि नगरपालिका लियो र लयान्स क्लबका काममा सँधै साथमा रहनेछ । “
कोरोना जोखिमबीच सम्पन्न शिविर सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कायम गर्दै उच्च सतर्कताका साथ सञ्चालन गरिएको क्लबका सल्लाहकार प्रमोद कुमार पौडेलले जानकारी दिए । दृष्टिप्रतिको आशा, विश्व दृष्टि दिवस मनाऔँ’ भन्ने नाराका साथ बिहीबार उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइएको छ ।




प्रतिक्रिया