ललितपुर – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडान कार्यलाई प्राथमिकतामा राखेको छ ।
सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलंकी तर्फको चक्रपथ खण्डमा आधुनिक स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो ।
महानगरपालिकाले ‘देशकै उज्यालो महानगरपालिका’ बनाउने दीर्घकालीन लक्ष्यअनुसार भित्री सडक तथा अन्य मुख्य सडकमा समेत स्मार्ट बत्ती जडानकार्य अघि बढाइरहेको जनाएको छ । यसअन्तर्गत दोस्रो चरणमा ललितपुर क्षेत्रभित्रको ७.९ किलोमिटर चक्रपथ क्षेत्रमा लाइट जडान गर्ने योजना कार्यान्वयन भइरहेको छ ।
ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनका अनुसार परियोजनाका लागि महानगरपालिकाले १० करोड तथा नेपाल विद्युत् प्राधिकरणले ३ करोड सहयोग गरेको छ । यसरी कुल १३ करोड रुपैयाँको लगानीमा स्मार्ट स्ट्रिट लाइट जडानको काम अघि बढाइएको हो ।
नगर प्रमुख महर्जनले चक्रपथमा आधुनिक बत्ती जडान भएपछि सडक रातभर उज्यालो रहने, यात्रु तथा सवारी चालकलाई सहज हुने र दुर्घटनाको जोखिम कम हुने विश्वास व्यक्त गरे । उनका अनुसार परियोजनाअन्तर्गत ११ मिटर अग्ला ३७१ वटा पोल, ८ मिटर अग्ला १९५, ७ मिटर अग्ला २२४ पोल तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गरिनेछ ।
महानगरपालिका क्षेत्रभित्रको सम्पूर्ण ७.९ किलोमिटर चक्रपथ खण्ड प्रभावकारी रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ । महानगरपालिकाले पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती सञ्चालनमा ल्याउने र त्यसपछि क्रमश: अन्य क्षेत्रमा विस्तार गर्दै लैजाने जनाएको छ ।
नगर प्रमुख महर्जनले आगामी ३ महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउने जानकारी दिँदै स्मार्ट स्ट्रिट लाइट परियोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।




प्रतिक्रिया