लिखु गाउँपालिकाका अध्यक्षमाथि हातपात गर्ने १३ जना पक्राउ


ओखलढुङ्गा – ओखलढुङ्गामा गाउँपालिका अध्यक्षमाथि हातपात गर्ने १३ जना पक्राउ परेका छन् । जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर पौडेल तथा कर्मचारीमाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोलीले १३ जनालाई पक्राउ गरेको हो ।

डिएसपी रूपेश खड्काका अनुसार उनीहरूले असार १२ र १३ गते कार्यालयमा गई अध्यक्ष पौडेलमाथि कुटपिट गर्दै गाउँपालिकाका कुर्ची, झ्यालहरूसमेत तोडफोड गरेका थिए । त्यसकै विरूद्धमा उजुरी परेपछि उनीहरूलाई मंगलबार पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा ३१ वर्षीय दीपक कार्की, ३२ वर्षीय भारती मगर खत्री, २२ वर्षीया निर्मला थापा, २२ वर्षीय दीपक थापा, २२ वर्षीय दिपेन्द्र खड्का र २० वर्षीय विश्वास खत्री छन् ।

त्यस्तै २७ वर्षीय पारस खड्का, २७ वर्षीय अरूण कार्की, २३ वर्षीय विशाल भन्ने दलबहादुर थापा, २७ वर्षीय हरिचन्द्र भन्ने निल बहादुर कार्की, २० वर्षीय राजु कार्की, २४ वर्षीय लक्षमण कार्की र २१ वर्षीय दिप राज खड्का छन् ।

असार ११ गते एम्बुलेन्स चालक सुर्दशन खत्रीको सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपुर्तिको माग गर्दै कार्यालयमा गएका उनीहरुले कुरा नमिलेपछि गाउँपालिका अध्यक्षलगायत अन्य कर्मचारीमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement