काँग्रेस र कम्युनिष्ट दुवैसँग फकिएन राप्रपा, बागमती सरकार बनाउन एमालेलाई सकस

काँग्रेस र कम्युनिष्ट दुवैसँग फकिएन राप्रपा, बागमती सरकार बनाउन एमालेलाई सकस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्ता राजनीतिको गणितीय खेलमा नलाग्ने निर्णय गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा शुक्रबार बसेको राप्रपा संसदीय दलको बैठकले बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार सत्ता समीकरणको समझदारी गरेका एमाले र नेकपा तथा अहिलेकै प्रदेश सरकारलाई निरन्तरता दिन प्रयासरत मुख्यमन्त्री इन्द्र बानियाँले सरकारमा आउन राप्रपालाई आग्रह गरिरहेका छन् ।

श्रेष्ठले काँग्रेस, एमाले र नेकपा मिलेर सातै प्रदेशमा सरकार बनाउन भन्ने चाहना आफूहरुको रहेको उल्लेख गरे ।

‘हामी अहिले कुनै पनि पक्षलाई सहयोग पुग्ने गरी सत्ताको गणितमा संलग्न हुन सक्दैनौं’, श्रेष्ठले काठमाण्डु पाटीसँग भने, ‘हामी चाहन्छौं, काँग्रेस, एमाले रनेकपा मिलेर प्रदेशका सरकारहरु बनाउन् ।’


सरकारविहीनताको अवस्था आएमा भने राप्रपाले परिस्थितिअनुसार निर्णय गर्ने श्रेष्ठको भनाइ थियो । प्रदेश सरकारमा जानैपर्ने बाध्यात्मक अवस्था आएमा निर्णय गर्ने अधिकारी अध्यक्ष लिङदेनलाई दिइएको श्रेष्ठले बताए ।

‘कुनै निर्णय लिनुपर्ने परिस्थिति सआइहाल्यो भने विकल्प खुला राख्ने भन्ने भएको छ, त्यस्तो अवस्थामा पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर निर्णय लिने अधिकार पार्टी अध्यक्षलाई दिइएको छ’, उनले भने ।


बागमतीमा काँग्रेस नेता बानिया नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले मन्त्रीहरुले ६ साउनमै सामूहिक राजीनामा बुझाएका छन् ।

९ साउनमा भएको एमाले र नेकपाबीचको समझदारीमा बागमती प्रदेशको सरकारको नेतृत्व एमालेले गर्ने उल्लेख छ ।


प्रदेशसभामा एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद नयाँ गठबन्धनको पक्षमा छन् ।

बहुमतका लागि ५३ सांसदको समर्थन जरुरी छ । १२ सांसदसहित प्रदेशसभाको चौथौ दल रहेको राप्रपा सत्ता फेरबदलमा निर्णायक अवस्थामा छ ।