काठमाण्डु – दक्षिणी र उत्तरी छिमेकी भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न खोजेपछि परराष्ट्र मन्त्रालयले छलफल थालेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा २ देशले लिपुलेक पास हुँदै सीमा व्यापारलाई खोल्ने सहमति गरेका छन् ।
भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार राति जारी द्विपक्षीय सहमतिका बुँदामा लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति भएको उल्लेख छ । भारतीय विदेशमन्त्री एस जयशंकरसँग चीनले लिपुलेक नाका खोल्ने सहमति गरेको हो ।
विदेश मन्त्रालयद्वारा जारी सहमतिको ९ नम्बर बुँदा उल्लेख छ, ‘दुईटै पक्ष तोकिएका ३ व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुन: खोल्न सहमत भए ।’
नेपालले विद्यमान नक्शाभित्र पर्ने लिपुलेक क्षेत्रलाई छिमेकी देशहरूले व्यापारिक मार्ग बनाउन खोजेपछि नेपालको परराष्ट्र मन्त्रालयले आगामी कदमबारे छलफल थालेको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकबारे मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी गरिरहेका बेला भारत–चीनबिच यस्तो सहमति भएको छ ।




प्रतिक्रिया