लिपुलेकबारे भारतको प्रतिक्रिया-नेपालको एकपक्षीय र कृत्रिम दाबीहरू अस्वीकार्य

लिपुलेकबारे भारतको प्रतिक्रिया-नेपालको एकपक्षीय र कृत्रिम दाबीहरू अस्वीकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लिपुलेक आफ्नो भएको भन्दै आएको नेपालको दाबीलाई भारतले अस्वीकार गरेको छ ।

भारतले सीमासम्बन्धी नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको दाबी गर्दै यस्ता एकपक्षीय र कृत्रिम दाबीहरू अस्वीकार्य भएको बताएको छ ।

भारतको परराष्ट्र मन्त्रालयले लिपुलेकबाट भारत–चीनबीच हुने सीमावर्ती व्यापार पुनः सुरु गर्ने विषयमा नेपालले जनाएको धारणामा आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्दै नेपालको दाबीलाई अस्वीकार गरेको हो ।

भारतले चीनसँग भएको लिपुलेक सम्झौता बारेको टिप्पणीमा आफ्नो आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्दै भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै भने, ‘भारत–चीनबिचको लिपुलेक हुँदै हुने व्यापार दशकौँदेखि चलिआएको छ । नेपालले गरेको दाबीलाई हामीले मान्दैनौँ ।’

उनले भने, ‘लिपुलेक पासमार्फत भारत–चीनबिचको व्यापार सन् १९५४ देखि निरन्तर हुँदै आएको हो। पछिल्ला वर्षहरूमा कोभिड र अन्य कारणले अवरुद्ध भएको यो व्यापार फेरि सुरु गर्ने दुवै पक्ष सहमत भएका छन्।’

भारतले सीमा सम्बन्धी बाँकी रहेका विवाद समाधानका लागि नेपालसँग संवाद र कूटनीतिक बाटोमार्फत निर्माणात्मक छलफल गर्न तयार रहेको समेत उनले स्पष्ट पारे ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारत र चीनले लिपुलेकबाट व्यापार सुचारू गर्ने सहमति गरेका छन् । यो सहमति भएपछि नेपालले उक्त भूमि आफ्नो भएको उल्लेख गर्दै प्रतिक्रिया जनाएको थियो ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको र उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न भारत सरकारलाई आग्रह गरेको थियो ।