काठमाण्डु- कथित तपस्वी रामबहादुर बम्जन (लिटिल बुद्ध)लाई सर्लाही लगिएको छ। हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई काठमाण्डुबाट बुधवार राति साढे १ बजे सर्लाही पुर्याइएको हो।
उनीविरुद्ध सर्लाहीमा उजुरी परेका कारण उता लगिएको जनाइएको छ । आज उनलाई सर्लाही जिल्ला अदालतमा पेश गरेर हिरासतमा राख्नका लागि अनुमति लिने तयारी प्रहरीको छ। नेपाल प्रहरीले बम्जन र उनको निवासबाट बरामद गरेको ठूलो परिमाणको नगद हिजो सार्वजनिक गरेको थियो।
यौन दुराचार र व्यक्ति हत्यामा संलग्न रहेको आरोपमा सीआईबीले बम्जनलाई मंगलबार उनको निवास हात्तीगौंडाबाट पक्राउ गरेको थियो। एक बालिकामाथि यौन दुराचार गरी हत्या गरेको आरोपमा बम्जनमाथि प्रहरीले अनुसन्धान गर्दै आएको थियो। अन्य थप व्यक्तिहरू पनि उनको आश्रमबाट हराएको सूचना प्राप्त भएकाले अनुसन्धान भइरहेको सीआईबीका एसपी दिनेश आचार्यले जानकारी दिए।
आचार्यका अनुसार चुन्मो भनिने २९ वर्षीया चिनीमाया तामाङ, ५१ वर्षीय सञ्चलाल वाइबा, डोल्मो भनिने फूलमाया रुम्बा र सुरेशकुमार आले बम्जनको आश्रमबाट हराएको सूचना प्रहरीलाई आएको छ। उनीहरू बम्जनकै अनुयायी रहेको प्रहरीको भनाइ छ। बम्जन विभिन्न ठाउँमा आश्रममा बस्दै आएका थिए।
चिनीमाया, सञ्चलाल र फूलमाया सिन्धुपाल्चोकको बाँडेगाउँबाट बेपत्ता बनाएको आचार्यले जानकारी दिए। बम्जन केही वर्षअघि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित टोड्के भन्ने ठाउँमा आश्रम बनाएर बसेका थिए। सोही बेला ती अनुयायीहरूलाई बेपत्ता पारिएको प्रहरीको भनाइ छ।




प्रतिक्रिया