काठमाण्डु – चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखमा लिउ जिआन्छाओ नियुक्त भएका छन् । चिनियां विदेश मन्त्रालयमा प्रवक्ता समेत भइसकेका वरिष्ठ कूटनीतिज्ञ जिआन्छाओलाई १ जुनमा विदेश विभागको प्रमुखको जिम्मेवारी दिइएको हो ।
चिनियां कम्युनिष्ट पार्टीका हालका विदेश विभाग प्रमुख सोङ ताओले उमेर हदका कारण अवकाश पाएपछि नयाँ प्रमुखको नियुक्ति भएको हो । ताओ नेपालका सबै राजनीतिक पार्टीका नेताहरुसंग व्यक्तिगत सम्बन्ध हुनुको साथै पटक-पटक नेपालको भ्रमणका क्रममा काठमाडौं समेत आएका थिए ।
लिउ भुकम्पपछी ११ सदस्यिय चिनियां प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २०७२ वैशाखमा नेपालको भ्रमणमा आएका थिए । उनले तत्कालिन प्रधानमन्त्री शुसिल कोइराला र परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसंग भेटेका थिए ।
विदेश विभागको महत्वपूर्ण जिम्मेवारी पाएका ५८ वर्षिय लिउ राष्ट्रपति सि जिनफिङका निकट मानिन्छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट ८० कै दशकमा अन्र्तराष्ट्रिय सम्बन्ध अध्ययन गरेका चिनियाँ कूटनीति तथा राजनीतिमा निकै प्रख्यात नाम हो ।
उनीसंग सरकार र पार्टी दुवैमा बसेर काम गरेको अनुभव छ । लिउ झेजियांङ प्रान्तिय पार्टी कमिटीको स्थायी समितिमा रहनुका साथै अनुशासन आयोगको प्रमुख समेत थिए । त्यसपछी उनि केन्द्रीय विदेश मामिला आयोगको डेपूटी समेत भएका थिए ।
लिउ चिनियां विदेश मन्त्रालयमा सूचना विभागको महानिर्देशक रहनुका साथै फिलिपिन्स र इण्डोनेशियामा चिनियां राजदूत समेत रहेका थिए ।




प्रतिक्रिया