स्थानीय चुनावमा सहभागी हुने राजनीतिक दललाई निर्वाचन आयोगकाे १७ बुँदे निर्देशन (पूर्णपाठ)

स्थानीय चुनावमा सहभागी हुने राजनीतिक दललाई निर्वाचन आयोगकाे १७ बुँदे निर्देशन (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावमा सहभागी हुने राजनीतिक दलहरुलाई १७ बुदे निर्देशन जारी गरेको छ ।

नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, स्थानीय तह निर्वाचन ऐन, निर्वाचन आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना र निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७ मा व्यवस्थाअनुरूप आयोगले उक्तक निर्देशन जारी गरेको हो ।

निर्देशनमा स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न भनिएको छ । यसैगरी राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित कृयाकलापहरू सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिन पनि भनेको छ ।

यस्तै निर्वाचनमा प्रयोग हुने मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्न, घोषणापत्र लगायतका दस्तावेजहरूमा लैङ्गिक तथा समावेशी सम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्न, प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

गत चुनावमा १७५ दलित महिला वडा सदस्य पदमा उम्मेदवारी नै नपरेको कारणबाट उक्त पद रिक्त भएको विषयलाई गम्भीरतापूर्वक लिई प्रचलित कानून बमोजिम सम्पूर्ण वडामा दलित महिलाको उम्मेदवारी हुने व्यवस्थाका लागि आवश्यक पहल गर्न पनि आयोगले निर्देशन दिएको छ ।

यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिहरुको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने तथा आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार नहुने कुराको सुनिश्चितता प्रदान गर्न पनि आयोगले निर्देशन दिएको छ ।