चुनावका लागि सेनाले बनायो ८३४ ‘अप्रेसन बेस’, मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन

चुनावका लागि सेनाले बनायो ८३४ ‘अप्रेसन बेस’, मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयारी तिव्र पारेको छ । सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यही अनुसारको तयारी थालेको हो ।

जसअनुसार सेनाले देशभर ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ । गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा अस्थायी बेस स्थापना गरिएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । उनले सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने जानकारी दिए ।

हेलिकोप्टरको प्रयोग घटाउन अप्रेसन बेस बढाइएको सिलवालले बताए । यी बेसबाट पनि मतदानस्थल तत्काल पुग्न नसकिने स्थानका लागि सेनाले चार ठाउँमा हेलिकोप्टरसहितको टोली तैनाथ गरेको छ ।

यस्तै सेनाले कारागारको सुरक्षा जिम्मा पनि लिएको छ । कारागारमा  रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षामा खटाइने भएपछि सेनाले ती कारागारको सुरक्षा जिम्मा लिएको हो ।

देशका विभिन्न विमानस्थलको सुरक्षा जिम्मा पनि सेनाले लिइसकेको छ । विमानस्थलमा यात्रु चेकजाँच लगायतका अत्यावश्यक संख्यामा मात्रै प्रहरी राखेर बाँकी सुरक्षामा सेना खटिएको हो ।

निर्वाचनमा ७१ हजार नेपाली सेना खटिने भएका छन् । नेपाल प्रहरी ६१ हजार ८३१ जना, एक लाख म्यादी, सशस्त्र प्रहरी २३ हजार ५३२ जना, ३ हजार गुप्तचर पनि खटिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि जेठ ३० गते आदेश जारी गरेकी थिइन् । त्यसको भोलिपल्ट वैशाख १ गतेबाट सेना परिचालन गरिएको प्रवक्ता सिलवालले बताए ।

३० गते हुने निर्वाचनमा ३५ हजार २ सय २१ पदका लागि मतदान हुँदैछ । सो को सुरक्षाका लागि नेपाली सेनाले आफ्नो तर्फबाट सुरक्षा सम्बन्धी तयारी तीव्र पारेको हो ।