चुनावका लागि सेनाले बनायो ८३४ ‘अप्रेसन बेस’, मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन


काठमाण्डु – नेपाली सेनाले यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयारी तिव्र पारेको छ । सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यही अनुसारको तयारी थालेको हो ।

जसअनुसार सेनाले देशभर ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ । गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा अस्थायी बेस स्थापना गरिएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । उनले सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने जानकारी दिए ।

हेलिकोप्टरको प्रयोग घटाउन अप्रेसन बेस बढाइएको सिलवालले बताए । यी बेसबाट पनि मतदानस्थल तत्काल पुग्न नसकिने स्थानका लागि सेनाले चार ठाउँमा हेलिकोप्टरसहितको टोली तैनाथ गरेको छ ।

यस्तै सेनाले कारागारको सुरक्षा जिम्मा पनि लिएको छ । कारागारमा  रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षामा खटाइने भएपछि सेनाले ती कारागारको सुरक्षा जिम्मा लिएको हो ।

देशका विभिन्न विमानस्थलको सुरक्षा जिम्मा पनि सेनाले लिइसकेको छ । विमानस्थलमा यात्रु चेकजाँच लगायतका अत्यावश्यक संख्यामा मात्रै प्रहरी राखेर बाँकी सुरक्षामा सेना खटिएको हो ।

निर्वाचनमा ७१ हजार नेपाली सेना खटिने भएका छन् । नेपाल प्रहरी ६१ हजार ८३१ जना, एक लाख म्यादी, सशस्त्र प्रहरी २३ हजार ५३२ जना, ३ हजार गुप्तचर पनि खटिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि जेठ ३० गते आदेश जारी गरेकी थिइन् । त्यसको भोलिपल्ट वैशाख १ गतेबाट सेना परिचालन गरिएको प्रवक्ता सिलवालले बताए ।

३० गते हुने निर्वाचनमा ३५ हजार २ सय २१ पदका लागि मतदान हुँदैछ । सो को सुरक्षाका लागि नेपाली सेनाले आफ्नो तर्फबाट सुरक्षा सम्बन्धी तयारी तीव्र पारेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement