स्थानीय तहको निर्वाचन बैशाखमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त


काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखमै गर्ने गरि तयारी गरेको बताएको छ । स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेगरि आयोगले तयारी गरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने बताए ।

‘स्थानीय तहको चुनाव रोक्नुहुँदैन् र रोकिँदैन पनि । यो मेरो आग्रह हो,’ उनले भने, ‘बैशाखमै निर्वाचन गर्न आयोग तयार छ । मैले सबै दलका नेताहरुलाई भेटेर यो कुरा राखिसकेको छु । सरकारले निर्वाचनको मिति मात्र दिओस् ।’

चुनाव सारिए स्थानिय तह प्रतिनिधिविहीन हुने भन्दै उनले ऐन संशोधनलगायतका कामहरु चुनावपछि पनि गर्न सकिने धारणा राखे । पछिल्लो समय स्थानीय तहको निर्वाचन बैशाखमा नगर्ने र यसलाई पछि धकेल्नेगरि तयारी भएको चर्चा चलिरहेको छ ।

सत्तारुढ गठबन्धनले संविधान बाझिएको भन्दै ऐन संशोन गरेर मात्र निर्वाचन गर्ने सहमति गरेको छ । तर, स्थानिय तह प्रतिनिधिविहीन बनाउन नहुने भन्दै सरकारले तोकिएको समय बैशाखमै निर्वाचन गर्नुपर्ने सर्वत्र दबाव बढेको छ ।

यता प्रधानमन्त्री शेरबहादुर देउवा भने तीनै तहको निर्वाचन एकैपटक मंसिर, माघ वा फागुनमा गर्ने रणनीतिमा छन् ।  एकैपटक निर्वाचन गर्दा खर्च कम लाग्ने उनको धारणा छ । तर नेकपा एमाले, राप्रपा, नेपाली कांग्रेसको संस्थापन इतर पक्ष, लगायत विभिन्न राजीनितक दलका नेताहरुले स्थानिय तहको निर्वाचन बैशाखमै हुनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement