स्थानीय सरकार हाँक्ने २५ महिला प्रमुख, को-कहाँ विजयी ? (सूचीसहित)

स्थानीय सरकार हाँक्ने २५ महिला प्रमुख, को-कहाँ विजयी ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । देशभरका ७५३ स्थानीय तहमध्ये ७४४ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ भने ९ वटा स्थानीय तहको नतिजा आउन बाँकी छ ।

स्थानीय तहको नेतृत्वमा महिला सहभागिता अघिल्लो निर्वाचनको तुलनामा यसपटक सुधार आएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार ०७४ को निर्वाचनमा १८ जना महिला स्थानीय तहको नेतृत्वमा पुगेका थिए । यसपटक भने २५ जना महिला स्थानीय सरकारको नेतृत्वमा पुगेका छन् ।

अघिल्लो निर्वाचनमा प्रमुख र अध्यक्षमा १८ जना, उपमेयर र उपाध्यक्षमा ७ सय जना, वडाध्यक्षमा ६२ जना, महिला वडा सदस्यमा ६ हजार ७ सय ४२ जना, दलित महिला सदस्यमा ६ हजार ५ सय ६७ जना, खुला वडा सदस्यमा २ सय ६४ जना गरी १४ हजार ३ सय ५३ जना महिला निर्वाचित भएका थिए ।

हालसम्म नतिजा आएकामध्ये देशभरका २५ स्थानीय तहमा महिलाले नेतृत्व गर्ने अवसर पाएका छन् । स्थानीय सरकार हाँक्ने अवसर पाएका २५ महिला मध्ये १ जना महानगर प्रमुख, १ उपमहानगर प्रमुख, ११ जना नगरपालिका प्रमुख र १२ जना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन् भने कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् । भरतुर महानगरको प्रमुखमा निर्वाचित माओवादी केन्द्रकी रेणु दाहालले यसअघि पनि नेतृत्व सम्हालिसकेकी छन् । माओवादी अध्यक्ष प्रचण्डकी छारी समेत रहेकी उनी दोस्रो पटक महानगरमा दोहोरिएकी हुन् ।

रेणु एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै भरतपुरको मेयर निर्वाचित भएकी हुन् । रेणुबाहेक पालिका प्रमुखमा निर्वाचित भएका अन्य महिलाले पहिलोपटक स्थानीय सरकारको नेतृत्व हाँक्ने अवसर पाएका हुन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका अनन्त प्रसाद पौडेललाई २ हजार १६७ मतले पराजित गर्दै उपमहानगरको कमान्ड सम्हाल्ने अवसर प्राप्त गरिन् ।

यस पटक सत्ता गठबन्धनको सहयोगमा मेयरमा निर्वाचित भएकी लामा ०७४ को निर्वाचनमा एमालेबाटै उपप्रमुखमा विजयी भएकी थिइन् । त्यसैगरी देशभरका ११ नगरपालिकामा पनि अबको ५ वर्ष महिलाले नेतृत्व सम्हाल्नेछन् ।खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा विमला राई निर्वाचित भएकी छन् ।

त्यस्तै सप्तरीको सुरुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी गीता चौधरी, झापाको बिर्तामोड नगरपालिकामा एमालेकी पवित्रादेवी महतारा, चितवनको माडीमा एमालेकी ताराकुमारी महतो, सुर्खेतको वीरेन्द्रनगरमा एमालेकी मोहनमाया भण्डारी विजयी भइन् ।

सर्लाहीको वरथहवामा एमालेकी कल्पनाकुमारी कटुवाल, रौतहटको ईशनाथमा लोकतान्त्रिक समाजवादी पार्टीकी कौशल्या देवी, कैलालीको लम्कीचुहा नगरपालिकामा कांग्रेसकी सुशीला शाही, नवलपरासी पश्चिमको सुनवलकम एमालेकी विमला अर्यालले आगामी पाँच वर्षका लागि नगरपालिकाको नेतृत्व हाँक्ने छन् ।

त्यस्तै रौतहटको मैलापुर नगरपालिकामा एमालेकी रीनाकुमारी साह विजयी भइन् । अछामको पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेसकी अम्बिकाकुमारी चलाउने निर्वाचित भइन् । त्यस्तै महानगर, उपमहानगर, नगरपालिका मात्र हैन गाउँपालिका प्रमुखमा पनि महिलाले नेतृत्व हाँक्ने अवसर पाएका छन् ।

देशभरका विभिन्न जिल्लामा रहेका १२ गाउँपालिकामा महिलाले आगामी पाँच वर्ष नेतृत्व सम्हाल्नेछन् । दैलेखको भैरबी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी रीताकुमारी शाही विजयी भएकी छन । झापाको गौरीगञ्ज अध्यक्षमा कांग्रेसकी फूलवति राजवंशी विजयी भएकी छन् ।

त्यस्तै सिन्धुलीको दुई गाउँपालिका प्रमुखमा महिला विजयी भएका छन् । फिक्कल गाउँपालिकामा एमालेकी पार्वती सुनार र सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रकी दिपा बोहरा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

काभ्रेको चौरी देउराली गाउँपालिकामा माओवादी केन्द्रकी रेणुका चौलागाई, बाग्लुङको बडिगाउँ गाउँपालिकामा कांग्रेसकी गण्डकी थापा अधिकारी, पर्वतको मोदी गाउँपालिकामा एमालेकी हिरादेवी शर्मा, पाल्पाको बगनासकाली गाउँपालिकामा एमालेकी सरस्वती र्दलामी चिदी अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेसकी लक्ष्मीदेवी पाण्डे, मोरङको कानेपोखरी गाउँपालिकामा एमालेकी राजमती इङनाम, खोटाङको जन्तेढुङगा गाउँपालिकामा माओवादी केन्द्रकी अरुणादेवी राई, सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कांग्रेसकी मिनादेवी कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।

यो निर्वाचनमा १ लाख ४५ हजार १० जनाकाे उम्मेदवारी परेको थियो । त्यसमा प्रमुख पदका लागि परेको ३ हजार २३८ उम्मेदवारमा २२९ मात्र महिला उम्मेदवार थिए । निर्वाचन आयोगको मंगलबारसम्मको तथ्यांक अनुसार निर्वाचित हुने प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडाअध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी जम्मा १४ हजार २४४ महिला निर्वाचित भएका छन् ।