काठमाण्डु- निर्वाचन आयोगले आगामी वैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासंग शुक्रवार भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुले स्थानिय तहको निर्वाचन एकै दिन गर्न उपयुक्त हुने सुझाव दिएका छन् ।
आयोगले यदी पहिलो चरणमा निर्वाचन गर्न सम्भव नभएमा वैशाख २२ मा निर्वाचन गर्न सकिने जनाएको छ । छलफलमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडु एवम् नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीलगायत उपस्थित थिए ।
स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अघि नै निर्वाचन हुनुपर्ने व्यवस्था छ । स्थानीय तहका पदाधिकारीको पदावधि आगामी जेठ ५ मा समाप्त हुने छ ।
आयोगले बैठकमा भोटिङ मेसिनको प्रयोग गर्नुपर्ने प्रस्ताव समेत गरेको छ । तर, त्यसका लागी दलहरुको सहमति आवश्यक रहेको जवाफ प्रधानमन्त्री देउवाले दिएका छन् ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि यही माघ १२ गते सम्पन्न हुने निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरी जम्मा २०२५ मतदाता रहेको, मतदानको लागि ८ वटा मतदान स्थल र १४ वटा मतदानकेन्द्रको व्यवस्था गरिएको, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न पुस १० गतेसम्म निवेदन दिनुपर्ने कार्यक्रम रहेको, पुस २० गतेदेखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम रहेको र यसपछि निर्वाचन आचार संहिता लागू हुने जानकारी गराएका थिए ।






प्रतिक्रिया